नेपालगञ्ज उपमहानगरपालिका–१ को कार्यालयले विपन्न मजदुरको बीमा गरिदिने, गार्डियन माइक्रो लाइफसँग गर्यो सम्झौता

१० माघ २०८०, बुधबार १०:३१

काठमाडौँ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ को कार्यालयले विपन्न मजदुरको बीमा गरिदिने भएको छ । वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्ने विपन्न वर्गका कामदारको एक लाखसम्मको म्यादी लघुजीवन बीमा गरिदिन थालेको हो ।

त्यसका लागि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडसँग सम्झौता गरिएको छ । वडासचिव भुविन्द्रप्रसाद कँडेल, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स नेपालगञ्जका प्रवन्धक लक्ष्मी विष्टको उपस्थितिमा वडाध्यक्ष प्रमोद रिजाल र इन्स्योरेन्सका क्षेत्रीय प्रवन्धक विमल खड्काले मंगलबार सम्झौता गरेका हुन् ।

सम्झौता अनुसार, १८ वर्षदेखि ५५ वर्षका मानिसको बीमा गरिने छ । १८ वर्ष उमेरको हकमा २ सय ७९ रुपैया र ५५ वर्षको उमेरको एक हजार एक सय ३५ रुपैया तिरेर बीमा हुन्छ । विपन्न वर्गका कामदारको वडा कार्यालयले रकम तिरेर बीमा गरिदिने वडाध्यक्ष रिजालले बताए ।

एक लाखको जीवन बीमामा दुर्घटना भएर बिमितको मृत्यु भएमा उसका परिवारले दुई लाख रुपैया र क्रियाखर्च २५ हजार पाउने इन्स्योरेन्सका क्षेत्रीय प्रवन्धक खड्काले बताए । यो बीमा एक वर्षको लागि हुनेछ । अर्को वर्ष गर्न चाहेमा फेरि बीमा गर्ने जनाईएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*