चार प्रतिशतले बढ्यो निजी क्षेत्रमा प्रवाहित कर्जा

२३ माघ २०८०, मंगलवार १३:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ महिनाको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांकअनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु. १९२ अर्ब ६४ करोड (४ प्रतिशत) ले बढेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु. १३७ अर्ब ३३ करोड (३.० प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको छ।

२०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.९ प्रतिशत र ३५.१ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४, विकास बैंकहरुको ४.४ र वित्त कम्पनीहरुको कर्जा प्रवाह २.४ प्रतिशतले बढेको छ।

त्यस्तै, २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ११.४ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.७ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ । २०७९ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.२ प्रतिशत र ६७.२ प्रतिशत रहेको थियो।

त्यस्तै, चालु आवको ६ महिनासम्म बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा १.१, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८, निर्माण क्षेत्रतर्फको कर्जा ४.१, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.६, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.५ र उपभोग्य क्षेत्रतर्फको कर्जा ७.० प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १३.२, नगद प्रवाह कर्जा २७.५, ट्रष्ट रिसिट (आयात) कर्जा ५.८, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ४.७ र मार्जिन प्रकृतिको कर्जा १०.५ प्रतिशतले बढेको छ । यता अधिविकर्ष कर्जा ४१ (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा १९.९ प्रतिशतले घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*