बीमा प्राधिकरणद्धारा लुम्बिनी प्रदेशमा सम्पत्ति शुद्धिकरण तालिम सम्पन्न, अण्डराईटिङ प्रभावकारी बन्ने आशा

१३ फाल्गुन २०८०, आईतवार १५:५१

काठमाडौं । बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणले लुम्बिनी प्रदेशस्तरीय सम्पत्ति शुद्धिकरण सम्बन्धी क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको छ । आज बुटवलमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश भित्रका बीमा कम्पनीका दावी विभाग र अण्डरराईटिङ विभागका कर्मचारीहरुलाई तालिम दिइएको हो ।

प्राधिकरणको केन्द्रय कार्यालयको आयोजनामा लुम्बिनी प्रदेश कार्यालयको सहकार्यमा लुम्बिनी प्रदेश भित्रका जीवन बीमा तथा निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरु, अण्डरराईटिङ र दावी विभागका कार्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण तालिम प्रदान गरिएको छ । सो तालिममा ८५ जना कर्मचारीहरु सहभागी थिए । जीवन, निर्जीवन तथा लघु बीमा कम्पनीमा कार्यरत अण्डरराईटिङ विभागका कर्मचारीहरुलाई यस्तो तालिम दिइएको हो ।

केही समय अघि एपिजेसँग गहन छलफल गरेको प्राधिकरणले लगत्तै देशैभरि सम्पत्ति शुद्धिकरण तालिम सञ्चालन गर्न लागेको हो । सो क्रममा लुम्बिनी प्रदेशबाट सुरु गरिएको छ । तालिममा बीमा प्राधिकरणबाट उप निर्देशक शाम्बराज लामिछाने र सहायक निर्देशक सविता थापा रिसोर्स पर्सनका रुपमा खटिएका छन् । कार्यक्रमको संयोजन प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख पूर्ण बहादुर थापाले गरेका थिए । सम्पत्ति शुद्धिकरण सम्बन्धी एसिया प्यासिफिक ग्रुपसँग प्रधानमन्त्री कार्यालयको आयोजनामा भएको छलफलमा सहभागी उक्त टोलीले देशैभरिका बीमा कम्पनीका कर्मचारीहरुलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी तालिम दिने योजना रहेको छ ।

आजको कार्यक्रममा बीमा कम्पनीका कर्मचारीहरुले उत्साहप्रद सहभागिता जनाएको र यसबाट लुम्बिनी प्रदेशमा अण्डरराईटिङ थप प्रभावकारी हुने विश्वास लिइएको नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापाले बताए । प्रधानमन्त्री कार्यालयको निर्देशन बमोजिम प्रदेश प्रमुखसहित अण्डर राईटिङ र दावी विभागका कर्मचारीहरुलाई तालिम प्रदान गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*