कर्जा दुरुपयोगको अनुसन्धान प्रहरीले गर्न सक्छ, पक्राउ पनि गर्न सक्छन्ः गर्भनर अधिकारी

२० फाल्गुन २०८०, आईतवार १३:२९

काठमाडौं । कर्जाको अनुसन्धान गर्ने अधिकार प्रहरीलाई पनि भएकाले सहयोग गर्न बैंकरलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आग्रह गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरिरहेको अनुसन्धानमा सहयोग गर्नुपर्ने उनले बताएका छन् ।

संघीय संसदको अर्थ समितिमा बोल्दै गभर्नर अधिकारीले कसैले उजुरी दिएमा कर्जाको अनुसन्धान गर्ने अधिकार प्रहरीलाई पनि भएकाले यसमा सहयोग गर्न आग्रह गरेका हुन्। असल नियतका साथ काम गरेको भए डराउनु नपर्ने र यसमा राष्ट्र बैंकले पनि सहयोग गर्ने गभर्नर अधिकारीले बताएका छन्।

बैंक वित्तीय संस्थालाई राष्ट्र बैंकले पनि नियमन तथा सुपरिवेक्षण नियमितरुपमा गरिरहेकै हुन्छ। बैंकर्सविरुद्ध कसैले उजुरी दिएमा प्रहरीलाई पनि छानबीन गर्ने अधिकार छ। सहकारी प्रकरणमा प्रकाउ पर्नु भएका बैंकर्सका कारण आत्तिनुपर्ने छैन। उहाँहरूले गलत काम गर्नुभएको छैन भने निर्दोष सावित भइहाल्नुहुन्छ। गलत मनसायका साथ कर्जा प्रवाह गर्नुभएको छैन भने उहाँहरूलाई राष्ट्र बैंकले सहयोग गर्छ। अहिलेलाई प्रहरीको अनुसन्धानलाई सहयोग गरौँ। यसबाट आत्तिनुपर्ने अवस्था छैन’, गभर्नर अधिकारीले भने।

देउराली सहकारीमार्फत कर्जा दुरुपयोगको विषयमा प्रहरीले अनुसन्धान गर्ने क्रममा तत्कालीन सीईओ तुलसीराम गौतम र हाल प्रभु बैंकका डीसीईओ मनोज न्यौपानेलाई प्रहरीले प्रकाउ गरेपछि बैंकर्स संघ तथा निजी क्षेत्रका संघ संस्थाले विरोध गरिरहेका छन्।

गभर्नर अधिकारीले अर्थ समितिमा बैंक वित्तीय क्षेत्रहरू सबल अवस्थामा रहेकोसमेत बताएका छन्। गभर्नर अधिकारीले नेपालको बाह्य क्षेत्र सुदृढ अवस्थामा रहेको बताए। करिब १४ महिनाको आयात धान्ने पर्याप्त हुने विदेशी मुद्राको सञ्चिति रहेको उनले बताएका छन्।

नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामा नै अझै पनि सबल रहेको अधिकारीले दाबी गरेका छन्। बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम रहेको ,ब्याजदर घट्ने क्रममा रहेको, बैंकहरूको पुँजीकोष सुविधाजनक अवस्थामा रहेको उनले बताएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*