नेपाल राष्ट्र बैंकको ढुकुटीको लाहाछाप तोडियो, धनगढी शाखा कार्यालयका प्रमुख लेखकमाथि छानविन हुँदै

रिना खत्री
२० फाल्गुन २०८०, आईतवार १९:१७

काठमाडौं । राष्ट्र बैंकको पैसा राख्ने ढुकुटीमा लगाएको लाहाछाप तोडिएपछि धनगढी शाखा कार्यालयका प्रमुख निर्देशक विनोद लेखक छानविनमा पर्ने भएका छन् ।

गत माघको अन्तिम सातातिर घटेको घटनामा केन्द्रीय बैंकको पैसा राख्ने मुख्य ढुकुटीमा लगाइएको लाहाछाप (सिल) तोडिएको अवस्थामा भेटिएपछि ढुकुटीको सिल लाहाछाप तोडेको आशंकामा छानविनको प्रकृया अघि बढाउँदै धनगढी शाखा प्रमुख लेखकलाई केन्द्रीय कार्यालय तानिएको छ ।

नेपाल राष्ट्र बैंक राष्ट्र बैंकको हो । जहाँ दैनिक अर्बौ रुपैयाँ राखिएको हुन्छ । बाहिरी घेरामा नेपाली सेनाको नियन्त्रणमा हुने उक्त ढुकुटीमा लगाइएको लाहाछाप तोडिए पनि रकम झिकिएको नझिकिएको बारे केन्द्रीय बैंकले केही बताउन चाहेन । कार्यालय प्रमुख, मुख्य क्यासिएर र अर्का एक जना गरी तीन जनाले सनाखत गरी हरेक दिन अपरान्ह बैंक बन्द भएपछि लाहाछाप लगाउने र भोलिपल्ट विहान ९ बजे तीन जनाको रोहबरमा खोल्ने गरिन्छ । सो क्रममा गत फागुन अन्तिम साता लाहाछाप तोडिएको अवस्थामा भेटिएपछि सो विषयमा केन्द्रीय कार्यालयमा रिपोर्टिङ गरिएको थियो । साथै नेपाली सेनाले समेत छुट्टै च्यानलबाट रिपोर्टिङ गरेको थियो ।

 

धनगढी कार्यालयको ढुकुटीको सिल तोडेको सूचना आए लगत्तै केन्द्रीय बैंकबाट विशेष टोली पठाएर छानबिन सुरु गरिएको थियो । सो क्रममा धनगढीस्थित कार्यालयका प्रमुख नै उक्त घटनामा मुख्य जिम्मेवार रहेको निष्कर्ष निकालिएको छ । अब उनलाई गरिने कारवाहीबारे छलफल भइरहेको छ । उक्त टोलीको प्रारम्भिक अनुसन्धानले प्रमुख लेखकले बैंकको ढुकुटीको ढोकाको सिल तोडेको पाइएको प्रतिवेदन तयार पारेको थियो ।

धनगढी कार्यालय प्रमुख लेखक हाल आंशिक रुपमा निलम्वनको अवस्थामा छन् । उनलाई धनगढीबाट केन्द्रीय कार्यालयमा हाजिर गराइएको छ भने कुनै पनि जिम्मोवरी दिइएको छैन । यही फागुन २ गतेदेखि राष्ट्र बैंक धनगढी निर्देशकविहिन अवस्थामा छ । अहिलेसम्म नयाँ निर्देशकको रुपमा कोहि पनि आइनपुगेको राष्ट्र बैंक धनगढीका निमित्त निर्देशक शान्ति पाण्डेले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*