चालु आर्थिक वर्षको ६ महिनामा अन्तरबैंक कारोबार साढे २५ खर्ब माथि

२३ फाल्गुन २०८०, बुधबार १७:०३

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनाको अन्तर बैंक कारोबार साढे २५ खर्ब माथि रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार पुस मसान्तसम्ममा ५४ वटा बैंक तथा वित्तीय संस्थाले २५ खर्ब ७४ अर्ब २० करोड रुपैयाँ अन्तर बैंक कारोबार गरेका हुन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच खर्ब ४९ अर्ब आठ करोड रुपैयाँले बढी हो । गत वर्षको सोही अवधिमा यस्तो कारोबार कारोबार २० खर्ब २५ अर्ब रुपैयाँ रहेको थियो ।

वाणिज्य बैङ्कले पुस मसान्तसम्ममा २३ खर्ब १६ अर्ब ९८ करोड रुपैयाँ अन्तरबैंक कारोबार गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ खर्ब ७३ अर्बरूपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैङ्कले १८ खर्ब ४३ अर्ब ८ करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए ।

यस्तै, समीक्षा अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरूले २ खर्ब ५७ अर्ब २२ करोड रुपैयाँको अन्तरबैंक कारोबार गरेको राष्ट्र बैङ्कले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंक र फाइनान्स कम्पनीहरूले १ खर्ब ८२ अर्ब ४ करोड रूपैयाँबराबरको अन्तरबैंक कारोबार गरेका थिए ।

चालु आवको पुस महिनासम्ममा पुसमा भारित औसत ब्याजदर २।८६ प्रतिशत पुगेको छ । यस अवधिसम्ममा वाणिज्य बैंकहरूको औसत आधार दर ९।३५ प्रतिशत, विकास बैंकहरूको ११।४९ प्रतिशत र फाइनान्स कम्पनीहरूको १२।७७ प्रतिशत रहेको छ ।

यता, वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ७।३२ प्रतिशत, विकास बैंकहरूको ८।५५ प्रतिशत र फाइनान्स कम्पनीहरूको ९।६२ प्रतिशत छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*