बैंकबाट ऋण लिने अनि तिर्दिनँ भन्नेलाई सरकारले नियन्त्रण गर्छः अर्थमन्त्री पुन

२४ फाल्गुन २०८०, बिहीबार १८:३५

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन ऋण तिर्दिनँ भन्नेलाई सरकारले नियन्त्रणमा लिने बताएका छन् । आज बैंकर्स संघसँगको भेटघाटमा उनले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने अनि तिर्दिनँ भन्नेलाई सरकारले नियन्त्रण गर्ने जनाएका हुन् ।

जनताको निक्षेपबाट दिइएको बैंकको ऋण तिर्दिन र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाईका साथ नियन्त्रण गर्ने पुनको भनाइ रहेको थियो । बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण नर्तिन अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने पुन बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ऋण नर्तिन भडकाउँदै हिंड्नेहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएको पुनले जानकारी दिए ।

निजी क्षेत्रको मनोबल घटाउने प्रवृत्तिले अर्थतन्त्र र मुलुकको समग्र समृद्धिको यात्रालाई अवरुद्ध पार्ने भएकाले सरकारले लगानीकर्ताको मनोबन गिर्न नदिने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘मुलुकमा लगानीको वातावरण र लगानी सुरक्षाको ग्यारेण्टी गर्न सकिए मात्र बाह्य लगानी आकर्षित गर्न सकिनेमा सरकार स्पष्ट छ । निजि क्षेत्र आत्तिने र डराउने वातावरणको सरकारले अन्त्य गर्छ।’

ऋण उठाउन गएका बैंकका कर्मचारीमाथि अपमानजनक व्यवहारका र आक्रमणका घटना बढेकामा गम्भीर हुन मन्त्री पुनसँग बैंकसंहरुले अनुरोध गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*