आशा लघुवित्तको आन्तरिक द्वन्द्व, कर्मचारी दिए व्यवस्थापकलाई आन्दोलनको चेतावनी

२७ फाल्गुन २०८०, आईतवार १७:३४

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरू व्यवस्थापकहरू आन्दोलनको चेतावनी दिएका छन् । लामो समयसम्म सम्झौता कार्यान्वयन नभएपछि आक्रोशित कर्मचारीहरूले आन्दोलनको चेतावनी दिएका हुन् ।

साबिकको राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गरेपश्चात् बनेको आशा लघुवित्तको व्यवस्थापन प्रति असन्तुष्टि जनाउँदै आएका कर्मचारीले यसअघि गरेको सम्झौता कार्यान्वयन नभएपछि आक्रोशित बनेका हुन् । सबै सम्झौता फागुन १६ गतेसम्म कार्यान्वयन गर्नुपर्ने भए पनि कर्मचारीको सेवा सुविधा समायोजन बाहेक अरू कुनै पनि नभएको कर्मचारीहरूको गुनासो रहेको छ ।

व्यवस्थापन समूहले आन्दोलनको समयमा भएका सहमति कार्यान्वयन गर्नुको सट्टामा उल्टै तालिमको आयोजना गरी कर्मचारी थर्काउने काम गरेको कर्मचारीहरू बताउँछन् । यसअघि आशा लघुवित्तका कर्मचारीले विभिन्न माग राख्दै १७ दिनसम्म आन्दोलन गरेका थिए। माग पुरा नभएको खण्डमा करिब दुई सय जनाले संयुक्त राजीनामा दिने बताएकोमा व्यवस्थापक समूहले वार्तामा बोलाई १६ बुन्दे सम्झौता गरेको थियो। तर ती सम्झौता पुरा नगरेको भन्दै कर्मचारीहरू पुनः आक्रोशित बनेका छन् ।

कर्मचारीहरू भने सम्झौताहरू कार्यान्वयनमा नआए चैत १ गते देखि पुनः आन्दोलनमा जाने तयारीमा लागेका छन् । सम्झौता कार्यान्वयन गराइदिन माग गर्दै श्रम तथा रोजगार कार्यालय टेकुमा समेत निवेदन दिने तयारी रहेको एक कर्मचारीले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*