अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिलाई वार्तामा बोलायो

१ चैत्र २०८०, बिहीबार १२:४२

काठमाडौं । अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिलाई वार्तामा बोलाएको छ ।अर्थमन्त्री वर्षमान पुन अनन्तको निर्देशनमा मन्त्रालयले शुक्रबार अपराह्न २ बजे लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि सिंहदरबारस्थित मन्त्रालयमा बोलाएका छन ।

मन्त्रालयले लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिसँग वार्ता गर्न सह–सहसचिव एवं वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल नेतृत्वको एक समिति समेत गठन गरेको छ । समितिले पीडितका प्रतिनिधिसँग सिंहदारबारमा वार्ता गर्ने गरी बोलाइएको छ ।

उक्त समितिमा गृहमन्त्रालयका सह–सचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई, कानून मन्त्रालयका उप–सचिव झइन्द्र गुरागाईं, नेपाल राष्ट्र बैंकका प्रतिनिधि छन् । समितिको सदस्यसचिवमा अर्थ मन्त्रालयका उप–सचिव केशव उप्रेती छन्।

मन्त्री पुनले समितिलाई संघर्ष समितिसँग वार्ता गरी उनीहरुका माग सम्बोधन गर्ने उपायसहित प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् । ‘कतिपय माग मन्त्रालयसँग र कतिपय माग नियामक निकाय राष्ट्रबैंकसँग सम्बन्धित छन्’, मन्त्री पुनले भने, ‘वार्ता गरेर समस्या समाधानको उपाय सुझाएर प्रतिवेदन बुझाउन भनेको छु ।’

मन्त्रालयले यसअघि नै समस्याको टुंगो नलाग्दासम्म लघुवित्तका ऋणिलाई घरघरमा गएर गैरकानूनी रुपमा बलजफ्ती नगर्न लघुवित्त सञ्चालकलाई निर्देशन दिएको थियो । मन्त्रालयले प्रचलित कानून तथा नेपाल राष्ट्रबैंकबाट दिइएको नीति निर्देशनविपरीत कार्य गर्ने लघुवित्त वित्तिय संस्थाहरुमाथि छानबिन गरी कारबाहीको दायरामा ल्याउन सम्वद्ध निकायलाई आग्रह गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*