सर्जन बिक हत्या काण्डका मुख्य योजनाकार अर्याल र विवाहको नाटक गर्ने सपना मल्लसहित छ जना सम्पत्ति शुद्धिकरणमा पनि दोषी ठहर

४ चैत्र २०८०, आईतवार २३:२५

काठमाडौं । हाल जिल्ला अदालत काठमाडौंमा संगठित अपराधमा मुद्दा चलिरहेको बाँके कोहलपुरका २१ बर्षिय बीमित सर्जन बिक हत्या काण्डका मुख्य योजनाकार सन्जीव अर्याल र बीमाको रकम लिन नक्कली विवाह गर्ने सपना मल्ल सहित छ जना अभियुक्तहरु सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा पनि दोषी ठहर भएका छन् । बीमा रकम लिनकै लागि तत्कालिन रिलायन्स लाइफमा योजनाबद्ध तरिकाले बीमा गराई हत्या गरिएका बाँके कोहलपुरका सर्जन बिकको बीमा दावी भुक्तानी काण्डमा संलग्न छ जना अभियुक्तहरु दोषी ठहर भएका हुन् ।

बिशेष अदालत, काठमाडौंको इजलासले सर्जन बिक हत्यामा संलग्न रहेकाहरु सपना मल्ल, सरदार अहमद खाँ, दिपक के.सी., छवी कुमारी खत्री, रुपक राना भन्ने टोप बहादुर राना क्षेत्री, सन्जीव अर्याललाई दोषी ठहर गर्दै सजायको लागि पुनः इजलाशमा पेश गर्न आदेश दिएको छ । उनीहरुका विरुद्धमा काठमाडौं जिल्ला अदालतमा ठगी तथा लिखत र संगठित अपराध सम्बन्धमा पुर्पक्षको लागि थुनामा राखेर मुद्दा चलिरहेको छ । सो मुद्दामा समेत करोडौं रुपैयाँ जरिवना, बिगो भराउने तथा कैद सजाय हुनसक्ने छ ।

बिशेष अदालतका मुख्य न्यायाधिश टेक नारायण कुँवर, न्यायाधिश तेज नारायणसिंह राई र रिेतेन्द्र थापाको संयुक्त इजलासले सर्जन बिक हत्या काण्डपछि बीमा कम्पनीलाई झुक्याएर बीमा बापतको रकम लिएको घटनामा दोषी ठहर गरेको हो ।

दोषी ठहर भएकी मध्ये छवी कुमारी खत्री सर्जन बिकसँग विवाह गरेर बीमाको रकम लिने सपना मल्लकी आमा हुन् । सपना मल्लको खातामा आएको रकम खत्रीको खातामा सारेर लुकाइएको थियो । विशेष अदालतले उनलाई समेत दोषी ठहर गरेको छ । बाँकी सपना मल्ल सर्जनसँग विवाह गरेर बीमा बापतको साढे दुई करोड रुपैयाँ बुझेकी युवती हुन् । घटनाको मुख्य योजनाकार सञ्जिव अर्याल हुन् । सामान्य ग्यारेजमा काम गर्ने बिकलाई मल्लले नै रकम दिएका थिए । अर्का अभियुक्त सरदार अहमद खाँ बीमा गराउने एजेन्ट हुन् । त्यस्तै, सञ्जिव अर्याल बीमा गराएर हत्या गरी रकम लिने मुख्य अभियुक्त हुन् । उनैले बीमाको रकम तिरेर बीमा गराएको देखिएको छ । अन्य व्यक्तिहरु भने घटनाका सहयोगीहरु हुन् ।

यसरी खुल्यो हत्याको रहस्य
२ करोड ५० लाख रुपैयाँ बराबरको बीमा गराइएका सर्जन बिकको २०७८ वैशाख २ गते बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भयो । मोटरसाइकल चलाउने लाइसेन्ससमेत नभएका बिकलाई टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनिबसले ठक्कर दिएपछि बिकको मृत्यु भएको थियो ।

सवारी दुर्घटनामा युवकको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट सवारी ज्यान मुद्दा चलाइएकामा २०७८ माघ २५ मा फैसला हुँदा रानालाई एक महिना कैद र २ हजार रुपैयाँ जरिवाना गरी छाडिएको थियो । मुद्दा सकिए लगत्तै प्रहरी प्रतिवेदनका आधारमा मृत्यु दर्ता, दुर्घटनाको प्रमाण आदि पेस गरी गिरोहले रिलायन्स बीमाबाट २ करोड ५० लाख रुपैयाँ भुक्तानी लिएका थिए ।

मृतकको नजिकको हकवालाका रूपमा श्रीमती बनाइएकी सपना मल्लको बैंक खातामा तत्कालिन रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले दुई करोड ५० लाख रुपैयाँ भुक्तानी दिएको थियो । उक्त रकममध्ये मुख्या योजनाकार सञ्जीव अर्यालले ८० लाख २६ हजार रुपैयाँ, दीपक केसीले ६० लाख छवि कुमारी खत्री नाम गरेकी सपना मल्लकी आमाले १७ लाख ४६ हजार रुपैयाँ लिएको पाइएको छ । त्यसैगरी चालकले समेत रकम लिएको र बाँकी रकम सपना आफैँले राखेको प्रहरीले जनाएको छ ।

बीमा कम्पनीको अण्डरराईटिङ कमजोर भएको मौका छोपेर गरिएको सो काण्डमा बीमा कम्पनीका कोही पनि कारवाहीमा परेका छैनन् ।

बीमा ठगी गर्न विवाह नै नक्कली
गिरोहका सदस्यले ठूलो रकमको विवाह गराई हत्या गरी मृत्यु पश्चात बीमा कम्पनीबाट आउने ठूलो रकम बाँडफाँड गर्न नक्कली विवाह गरेको पाइएको छ । सीआईबीका अनुसार मृतक २१ वर्षीय सर्जन बिक र सपनाबीच विवाहको दिन मात्रै भेट भएको थियो । उनीहरुको विवाह अदालतमा गएर बीमा गरिसकेपछि हत्या हुनु केही दिन पहिले मात्रै भएको थियो । बीमा कम्पनीका कर्मचारीले विवाहदर्ता प्रमाणपत्र नहेरी सर्जन बिकको श्रीमतीको रुपमा सपना मल्लको नाम हकवालाको रुपमा राखेको पाइएको छ । गरिब परिवारका सर्जनलाई विवाह गरी अस्ट्रेलिया लैजाने भन्दै सपना मल्लसँग विवाह गराए पनि सँगै भने बसेका थिएनन् ।

त्यसपछि विवाह गरेको समयपछि उनीहरूबिच भेटघाट नै नभएको प्रहरीले जनाएको छ । २ करोड ५० लाख रुपैयाँको बीमा गरेको ३७ दिनमा सर्जनको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।उक्त मृत्युपछि कम्पनीले रकम भुक्तानी गरेको भए पनि उक्त घटना शङ्कास्पद देखिएपछि बाँके प्रहरीलाई घट्नाबारे पत्र लेखेको थियो । सो सम्बन्धमा प्रहरीले समेत सुरुमा एशियन लाइफको बारा काण्डजस्तै हत्यालाई दुर्घटना भनेर पत्र लेखेको थियो । पछि नेपाल पुनर्बीमा कम्पनीले सिआईबीलाई पत्र लेखेर सर्जन बिकको दुर्घटना नभई हत्या भएको हुनसक्ने भन्दै पत्र लेखेपछि सिआईबीले अनुसन्धान सुरु गर्दा सपना मल्ल जापान उड्ने अन्तिम तयारीमा पुगिसकेकी थिईन । सिआईबीले तत्कालै त्रिभुवन विमानस्थलबाट पक्राउ गर्न सफल भएको थियो ।

सञ्जीवले तिरेका थिए बीमा शुल्क
कम्पनी, कोहलपुर शाखामा सर्जन विकको बीमा गरियो । बीमाको प्रथम शुल्क ५ लाख ४० हजार सञ्जीव अर्यालले भुक्तानी गरेको भेटिएको छ । बीमा गराउने एजेन्ट सरदर अहमद खाँ हुन् ।एजेन्टकै मोटरसाइकल दिएर सर्जनलाई योजनाबद्ध दुर्घटनामा पारिएको केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अनुसन्धानबाट थाहा भएको छ । बीमा गराउने एजेन्ट र सञ्जीव पूर्व परिचित हुन् । सञ्जीवसँग सपनालाई ललिता कुमारी सापकोटा उर्फ आरतीले भेट गराएकी हुन् । भेटमा सपनालाई ‘डिपेन्डेन्ट भिषा’मा अस्ट्रेलिया पठाउने विषयमा कुरा भएको ललिताले प्रहरीलाई बताएकी छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार ललिताचाहिँ सञ्जीवको केटी साथी हुन् ।

सर्जन बिक हत्याकाण्डको नालिबेली
मृतक सर्जन बिकको नाममा २०७७ फागुन ५ गते कामना सेवा विकास बैंकमा खाता खोलिदिएको थियो । सपना मल्लको खाता खोलेको २०७७ फागुन १२ गते कामना सेवा विकास बैंक (दुबै जनाको खाता संजिबले खोलिदिएको) अनुसन्धानमा देखिएको छ ।

जीवन बीमा: २०७७ फागुन २८ गते (इच्छाइएको व्यक्तिमा सपना मल्ल) प्रथम बीमा शुल्क तिरेको मितिः २०७७ फागुन २८ गते भुक्तानी गरेको छ । बीमितको विवाह दर्ता मितिः २०७७ चैत २ गते, जिल्ला अदालत बाँके । दुर्घटना मिति ः२०७८ बैशाख २ गते भएको देखिएको छ ।
रिलायन्स लाइफले गरेको दाबी भुक्तानी कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल तथा कार्यकारी निर्देशक राजुरमण पौडेलको समेत सहभागी रहेको थियो ।कम्पनीले २०७८ साउन १३ गते होटल मेरियटमा विशेष कार्यक्रम आयोजना गरेरै सपना मल्ललाई साढे दुई करोड रुपैयाँको चेक हस्तान्तरण ।
२०७८ पुस ३० गते नेपाल पुनर्बीमा कम्पनीद्धारा घटना शंकास्पद रहेको भन्दै सिआईबीलाई पत्राचार ।
२०७९ साउन १३ गते शुक्रबार सिआईबीद्धारा घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका सपना मल्ल, सञ्जिव अर्यालसहित छ जना सार्वजनिक ।
२०७९।०६।०६ काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता
२०८०।०६।२३ मा विशेष अदालतमा मुद्दा दर्ता
२०८०।१२।०४ विशेष अदालतद्धारा सपना मल्लसहित छ जना दोषी ठहर ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*