दुई बीमा र एक लघुवित्त कम्पनीको शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?

१३ चैत्र २०८०, मंगलवार ०७:१७

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्रीमा ल्याएका छन् । कम्पनीहरुले बिक्रीमा ल्याएका यी शेयरमा आजदेखि खरिद आवेदन दिन सकिनेछ ।

हिमालयन लाइफ इन्स्योरेन्सले स्वदेशी सेक्युरिटिज् एण्ड इन्भेष्टमेन्ट प्रा.लि.को स्वामित्वमा रहेको ६४ हजार ५०९ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यसको प्रतिशेयर न्यूनतम मूल्य १७५ रुपैयाँ तोकिएको छ । यस शेयरमा इच्छुक विद्यमान संस्थापक वा अन्य जो–कोहीले आवेदन दिन पाउनेछन् ।

आवेदकले शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम पाँच हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ । आवेदन एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली काठमाडौंमा चैत्र २० गतेभित्र दिसक्नुपर्नेछ ।

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दुई लाख ८७ हजार ५०० कित्ता शेयर बिक्रीमा ल्याएको छ । यसको प्रतिशेयर न्यूनतम मूल्य २१० रुपैयाँ तोकिएको छ । यस शेयरमा इच्छुक जो–कोहीले आवेदन दिन पाउनेछन् ।

आवेदकले बोलकबोल गर्दा न्यूनतम पाँच हजार कित्ता र अधिकतममा सबै कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ । आवेदन दिने अन्तिम मिति चैत्र २० गतेसम्म रहेको छ । खरिदकर्ताले आवेदन एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली काठमाडौंमा आइपुग्नेगरी दिनुपर्नेछ ।

यता, फस्र्ट माइक्रोफाइनान्स लघुवित्तले एक लाख ५० हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ । प्रतिकित्ता न्यूनतम ३०० रुपैयाँमा कम्पनीले जो–कोहीले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

शेयर खरिद गर्दा घटिमा १५ हजार कित्ता र बढीमा सबै कित्ता शेयरका लागि आवेदन दिनसकिनेछ । आवेदन दिने अन्तिम मिति चैत्र १५ गतेसम्म रहेको छ । शेयर खरिदकर्ताले मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा आइपुग्नेगरी आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*