जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क ६% ले बढ्यो, सरकारी कम्पनीको घट्यो, प्रभु–रिलायबल–सन नेपाल र हिमालयन लाइफको उच्च बृद्धि

१३ चैत्र २०८०, मंगलवार ११:५३

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले फागुन महिनासम्ममा ७९ अर्ब ८६ करोड ५५ लाख रुपैयाँ बराबरको नवीकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको फागुन महिनामा ७५ अर्ब २० करोड ७ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका थिए । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कम्पनीहरुको नवीकरण बीमा शुल्क आर्जन करिब ६ दशमलव २० प्रतिशतले बढेको छ ।

नवीकरण बीमाशुल्क बृद्धिको आधारमा प्रभु महालक्ष्मी लाइफ र रिलायबल नेपाल लाइफ अग्रस्थानमा रहेका छन् । फागुन महिनासम्ममा प्रभु महालक्ष्मी लाइफको नविकरण बीमा शुल्क आर्जन २७ दशमलव १९ प्रतिशतले बढेर २ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।

साथै, दोस्रो नम्बरमा रहेको रिलायबल नेपाल लाइफको नविकरण बीमा शुल्क आर्जन २३ दशमलव ७४ प्रतिशतले बढेर १ अर्ब ७७ करोड ७९ लाख रुपैयाँ पुगेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४३ करोड रुपैयाँ बराबरको नवीकरण बीमा शुल्क आर्जन गरेको प्रकाशित वित्तीय विवरणले देखाएको छ ।

बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांक अनुसार फागुन महिनासम्ममा सन नेपाल लाइफको १५ दशमलव ४० प्रतिशत, हिमालयन लाइफको १४ दशमलव ३५ प्रतिशत, सूर्यज्योति लाइफको १३ दशमलव ६४ प्रतिशत, एशियन लाइफको १२ दशमलव २५ प्रतिशत, नेशनल लाइफो प्रतिशत र अन्य कम्पनीको १० प्रतिशतभन्दा मुनीले नविकरण बीमा शुल्क आर्जन बृद्धि भएको छ । सरकारी स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क आर्जन २३ दशमलव ३१ प्रतिशतले घटेको छ ।

फागुन महिनासम्ममा नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशनको नविकरण बीमा शुल्क आर्जन सबैभन्दा बढी रहेको छ । यस अवधिमा नेपाल लाइफले २२ अर्ब ५ करोड ५७ लाख रुपैयाँ र एलआईसी नेपालले १० अर्ब २२ करोड रुपैयाँ बराबरको नविकरण बीमा शुल्क आर्जन गरेको प्रकाशित वित्तीय विवरणले देखाएको छ ।

त्यस्तै, हिमालयन लाइफले फागुन महिनासम्ममा कुल ९ अर्ब ७८ करोड ७१ लाख रुपैयाँ, नेशनल लाइफले कुल ८ अर्ब ७० करोड २७ लाख रुपैयाँ बराबरको नविकरण बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ८४ करोड ५ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*