घट्यो जीवन बीमा कम्पनीहरुको लघुबीमा व्यवसाय, कारणः सहकारी र लघुवित्तको विजोग ! 

राजन कठायत 
१९ चैत्र २०८०, सोमबार १८:२९

काठमाडौं । हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुको लघुबीमा व्यवसाय घटेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको फागुन महिनासम्मको वित्तीय विवरण अनुसार कम्पनीहरुको लघु बीमा व्यवसाय घटेको देखिएको हो ।

देशमा आर्थिक मन्दीका कारण लघुवित्त र सहकारी लगायतका वित्तीय संस्थाहरुको अवस्था एकदम नाजुक अवस्थामा पुगेको छ । कोरोना महामारी र विभिन्न प्रकारका आन्दोलनले गर्दा लघुवित्त र सहकारीको व्यवसाय घटेको कारण जीवन बीमा कम्पनीहरुको लघु बीमा व्यवसायमा प्रभाव पारेको छ ।

जीवन बीमा कम्पनीहरुसँगको सहकार्यमा लघुवित्त र सहकारी संस्थाहरुले सामुहिक लघुबीमा पोलिसी खरिद गरी नागरिकलाई बिक्री गर्दा बीमा कम्पनीहरुको लघुबीमा मार्फत आउने बीमाशुल्क बढ्ने गरेको थियो ।

जीवन  बीमक संघ नेपालका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ पोषक राज पौडेलका अनुसार लघुवित्त तथा सहकारी संस्थाको व्यवसाय घटेको कारण जीवन बीमा कम्पनीको लघुबीमा व्यवसाय पनि घटेको बताए ।

‘देशका दुर–दराजमा रहेका निम्न वर्ग तथा किसानहरुलाई  लघुवित्त र सहकारीहरुले लघुबीमा पोलिसीहरु बिक्री गर्ने गथ्र्यो तर वर्तमान समयमा लघुवित्त र सहकारीहरुले बीमितहरुसँग लघु बीमाशुल्क उठाउन नसकिरहेका कारण जीवन बीमा कम्पनीको लघुबीमा व्यवसाय घटेको हो’ सीईओ पौडेलले बताए ।

नयाँ सञ्चालनमा आएका लघुबीमा कम्पनीहरुले व्यवसाय थालनी गरेसँगै जीवन बीमा कम्पनीहरुको लघुबीमा पोलिसीमा समेत प्रभाव परेको छ । हाल लघु बीमालेख बिक्री गर्दै आएका जीवन बीमा कम्पनीहरुमध्ये नौ वटा कम्पनीको लघुबीमा व्यवसायमा गिरावट आएको वित्तीय विवरणले देखाएको छ ।

सार्वजनिक तथ्यांक अनुुसार जीवन बीमा कम्पनीहरुले बिक्री गरेका लघुबीमा पोलिसीको माग समग्र रुपमा बढेता पनि अधिकांश कम्पनीको भने घटेको छ । कम्पनीहरुको लघु बीमाशुल्क आर्जन गत आर्थिक वर्षको तुलनामा तीन दशमलव ९२ प्रतिशतले बढेर एक अर्ब ६४ करोडबाट  एक अर्ब ७० करोड रुपैयाँ पुग्न सफल भएको छ ।

एशियन लाइफ र लाइफ इन्स्योरेन्स कर्पोशन नेपालको लघुबीमा व्यवसाय सर्वाधिक अंकले घटेको छ । यस अवधिमा एशियन लाइफको लघु बीमा व्यवसाय ८० दशमलव ८९ प्रतिशतले घटेर एक करोड १६ लाख रुपैयाँबाट ३१ लाख रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, एलआईसी नेपालको ७८ दशमलव ०८ प्रतिशतले घटेर सात लाख ८९ हजार रुपैयाँमा सीमित बन्न पुगेको छ । साथै, सन नेपाल लाइफको ४९ दशमलव ७२ प्रतिशत, नेपाल लाइफको ४९।२४ प्रतिशत, हिमालयन लाइफको ४६ दशमलव ५१ प्रतिशत, सिटिजन लाइफको १८ दशमलव ८७ प्रतिशत, सानिमा रिलायन्स लाइफको ११  र रिलायबल नेपाल लाइफको ८ दशमलव ६१ प्रतिशतले लघुबीमा व्यवसाय  घटेको तथ्यांकले देखाएको छ ।

जीवन बीमा कम्पनीहरु मध्ये नेशनल लाइफ र सिटिजन लाइफले सबैभन्दा बढी लघुबीमा शुल्क आर्जन गर्न सफल भएका छन् । यस अवधिमा नेशनल लाइफले ७४ करोड ८५ लाख रुपैयाँ लघुबीमा मार्फत आर्जन गरेको छ । साथै, दोस्रो नम्बरमा रहेको सिटिजन लाइफले ३० करोड ७१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको वित्तीय विवरणले देखाएको छ ।

सानिमा रिलायन्स लाइफले लघु बीमालेखबाट १८ करोड ९० लाख रुपैयाँ, सूर्यज्योति लाइफले १८ करोड ३२ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १४ करोड ६५ लाख रुपैयाँ, मेट लाइफले नौ करोड ८२ लाख रुपैयाँ, सन नेपाल लाइफले एक करोड ७७ लाख रुपैयाँ र अन्य कम्पनीहरुले १ करोडभन्दा मुनीको रकम संकलन गरेका छन् ।
बीमा प्राधिकरणको अनुमति पाएसँगै नेपालमा तीन वटा लघुबीमा कम्पनीहरुले व्यवसाय सञ्चालन गरेका छन् । कम्पनीहरुले समाजमा न्यून आय भएका नागरिकहरुलाई विभिन्न प्रकारका लघुबीमा पोलिसी बिक्री गर्ने गरेका छन् ।

हाल नेपालमा सञ्चालन रहेका गार्डियन माइक्रो लाइफले एक करोड ५९ लाख रुपैयाँ, क्रेष्ट माइक्रो लाइफले तीन करोड ६१ लाख रुपैयाँ र लिवर्टी माइक्रो लाइफले ६९ लाख रुपैयाँ लघुबीमा पोलिसी बिक्री गरे वापत बीमा शुल्क आर्जन गरेका छन् ।

 

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*