बीमा व्यवसाय र दायरामा संकुचन, घट्न थाल्यो कार्यालय र कर्मचारी सङख्या

रिना खत्री
२० चैत्र २०८०, मंगलवार १३:५४

काठमाडौं । देशको अर्थतन्त्रमा सुस्तता आएसँगै यहाँ सञ्चालित बीमा कम्पनीको व्यवसाय वृद्धिमा सङ्कुचन आइरहेको छ ।अर्थतन्त्रको प्रभावले अन्य क्षेत्रजस्तै पछिल्लो समय बीमा कम्पनीको व्यवसायमा पनि बिस्तारै सङ्कुचन आउँदै गएको हो। सो कारण बीमा कम्पनीको कार्यालय सङख्या र कर्मचारी सङख्या पनि घट्न थालेको छ। बीमा व्यवसायमा प्रभाव देखिन थालेसँगै कार्यालय र कर्मचारी सङख्या घट्नु स्वभाविक रहेको बीमा विज्ञहरुको धारणा रहेको छ।

जीवन बीमा लेख सङख्यामा आएको गिरावट र निर्जीवन बीमा कम्पनीको बीमा शुल्क सङ्कलनमा पछिल्लो समय कमी आइरहेको छ । कम्पनीहरूकोबीमा शुल्क आर्जनको दर सामान्य वृद्धि देखिए पनि समग्र व्यवसायको वृद्धिमा सङ्कुचन आइरहेको छ ।

जीवन र निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८०÷८१ को फागुन मसान्तसम्ममा कुल एक खर्ब २४ अर्ब ८५ करोड ९० लाख ९५ हजार रुपियाँबीमा शुल्क सङ्कलन गरेका छन्।
निर्जीवन बीमा तर्फ १४ र जीवन बीमा तर्फ १४ वटा गरी कुल २८ वटाबीमा कम्पनीले सङकलन गरेको योबीमा शुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.४० प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले एक खर्ब १९ अर्ब ५९ करोड ८६ लाख १२ हजार रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए ।

यो अवधिमा जीवन बीमा को तुलनामा निर्जीवन बीमा को व्यवसाय झनै खुम्चिएको छ। चालु आवको फागुन मसान्तसम्म जीवनबीमा शुल्क सङ्कलन ५.१९ प्रतिशतले बढेको छ भने निर्जीवनबीमा शुल्क सङ्कलनको वृद्धिदर केबल १.५३ प्रतिशतमा सीमित रहेको छ ।

Source: Beema Pradikaran

पछिल्लो समय अर्थतन्त्र चलायमान हुन नसक्दा यसको असरबाटबीमा क्षेत्र पनि अछुतो रहन नसकेको विज्ञहरू बताउँछन् । आन्तरिक अर्थतन्त्र चलायमान हुन नसक्दा सरकार, निजी क्षेत्रदेखि सर्वसाधारणको दैनिकीसम्ममा गम्भीर असर पर्दै गएको छ ।

अर्थतन्त्रमा देखिएको शिथिलताको अवस्था बीमा क्षेत्रमा पनि देखिएको भन्दै बीमा विज्ञ डा. रविन्द्र घिमिरेले भने, “मान्छेको क्रयशक्तिमा सङ्कुचन आइरहेको छ । बीमा क्षेत्रको व्यवसाय पनि क्रमशः खस्कँदै गएको छ ।”

नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको फागुन मसान्तसम्म सञ्चालनमा रहेका १४ वटा जीवनबीमा कम्पनीले ९८ अर्ब ५९ करोड छ लाख ६१ हजार रुपैयाँ सङ्कलन गरेका छन् । जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा ५.१९ प्रतिशतले बढी हो । अर्थात् जीवन बीमा कम्पनीको बीमा शुल्क सङ्कलन अघिल्लो वर्ष ९३ अर्ब ७२ करोड ५२ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै १४ वटा निर्जीवन बीमा कम्पनीले २६ अर्ब २६ करोड ८४ लाख ३४ हजार रुपियाँ सङ्कलन गरेका छन् । जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा १.५३ प्रतिशतले बढी हो । अर्थात् निर्जीवनबीमा कम्पनीको बीमा शुल्क सङ्कलन अघिल्लो वर्ष २५ अर्ब ८७ करोड ३३ लाख ६० हजार रुपैयाँ रहेको थियो।चालु आवको फागुन मसान्तसम्म तुलनात्मक रूपमा निर्जीवन बीमा कम्पनीले जारी गरेको बीमा लेखको सङख्यामा मा ४.४२ प्रतिशतले बढोत्तरी आएको छ । यता जीवन बीमा कम्पनीले जारी गरेको बीमा लेखको सङख्यामा मा १.३९ प्रतिशतले कमी आएको छ।

यस्तै जीवन बीमा कम्पनीले चालु आवको फागुन मसान्तसम्म एक करोड ३८ लाख सात हजार २४९ वटा बीमा लेखहरू जारी गरेका छन्। जुन गत आवको सोही अवधिको तुलनामा १.३९ प्रतिशतले कमी हो । गत वर्ष फागुनसम्म जीवन बीमा कम्पनीहरूले एक करोड ४० लाख एक हजार ५७७ वटा बीमा लेख जारी गरेका थिए ।
चालु आवको फागुन मसान्तसम्म बीमा को दायरामा आएको कुल जनसङख्यामा मा म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमा लेखसहितको सङख्यामा ४३ १६ प्रतिशत रहेको छ। यो सङख्यामा गत आवको सोही अवधिको तुलनामा कमी आएको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगार बीमा लेख सङख्यामा मा बढोत्तरी आएको छ । चालु आवको फागुन मसान्तसम्म २० लाख नौ हजार ३५१ वटा वैदेशिक रोजगार बीमा लेख जारी भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४४.१५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष १३ लाख ९३ हजार ९५६ वटा वैदेशिक रोजगार बीमा लेख जारी भएको थियो ।

समीक्षा अवधिमा नवीकरण जीवन सङ्कलन ६.२० प्रतिशतले बढेको छ । चालु आवको फागुन मसान्तसम्म नवीकरण जीवन सङ्कलन ७९ अर्ब ८६ करोड ५५ लाख ५२ हजार रुपियाँ रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ७५ अर्ब २० करोड सात लाख ७९ हजार रुपियाँ रहेको थियो। प्रथम जीवन सङ्कलन भने १.०८ प्रतिशतले बढेको छ ।

त्यस्तै, बीमा कम्पनीहरुको कार्यालय सङख्या ८ दशमलव ८० प्रतिशतले घटेको छ ।

गत बर्ष ३ हजार २ सय १५ शाखा कार्यालय रहेको बीमा कम्पनीहरुको कार्यालय सङख्या घटेर २ हजार ९ सय ३२ मा सिमित भएको छ।

त्यस्तै, कर्मचारीको सङख्याको आधारमा हेर्ने हो भने जीवन बीमातर्फ १ दशमलव ८७ प्रतिशतले घटेको छ। गत बर्ष पाँच हजार ९ सय ३३ कर्मचारी रहेको जीवन बीमा कम्पनीहरुमा यस बर्ष घटेर ५ हजार ८ सय २२ मा झरेको छ ।

त्यस्तै निर्जिवन बीमातर्फ भने कर्मचारीको सङख्या बढेको देखिएको छ । गत बर्ष ५ हजार ५ सय ९१ कर्मचारी रहेको कम्पनीमा यस बर्ष २। ५८ प्रतिशतले बढेर ५ हजार ७ सय ७३ पुगेको छ ।

त्यस्तै, बीमा कम्पनीहरुमा कुल काम गर्ने कुल कर्मचारीको सङख्यामा भने सामान्य सुधार देखिएको छ। गत बर्ष ११ हजार ५ सय २४ रहेको कर्मचारी सङख्या रहेको कम्पनीमा यस बर्ष ११ हजार ५ सय ५५ रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*