वैदेशिक रोजगारीबाट फर्किएर बीमा क्षेत्रमा यसरी उदाए नविन

२३ चैत्र २०८०, शुक्रबार १०:३५

काठमाडौं । बीमा क्षेत्रमा परिचित नाम हो, नविन लामिछाने । नेशनल लाइफका अभिकर्ता लामिछाने बीमा क्षेत्रमा गर्बिलो परिचय बनाउन सफल भएका छन् ।

हाल उनी नेशनल लाइफ इन्स्योरेन्समा सिनियर एजेन्सी म्यानेजरका रुपमा कार्यरत छन् । बीमा क्षेत्रमै आफ्नो उर्जाशील समय खर्चिरहेका सिनियर एजेन्सी म्यानेर नविन लामिछानेसँग बीमापोष्टकर्मी राजन कठायतले गरेको कुराकानीको सारः

बीमा क्षेत्रमा नविन लामिछानेको परिचय के हो ? संक्षेपमा भनिदिनोस् न ? 

–मेरो नाम नविन लामिछाने हो । घर नुवाकोट । हाल म बीमा क्षेत्रमा नविन एलसीको रुपमा परिचित छु । विगत २० वर्षदेखि काठमाडौंमा सर्घषशील छु । काठमाडौं मै विभिन्न क्षेत्रमा काम गरेको अनुभव छ ।

जीवन बीमा क्षेत्रमा कहिलेदेखि प्रवेश गर्नुभयो ? प्रवेश गर्दाको समयमा कस्तो थियो, बीमा बजार ?

–म बीमा क्षेत्रमा प्रवेश गरेको २०६३ सालतिर चावहिलमा रहेको चलचित्र बोर्ड नजिकै तत्कालीन बीमा समिति थियो । मैले उतिबेला नै बीमा अभिकर्तासम्बन्धि एक हप्ते तालिम लिएको थिए । बीचमा विभिन्न बाधा अड्चन आए र बीमा बजारलाई निरन्तरता दिन सकिँन । अनि वैदेशिक रोजगारीमा हानिएँ । मैले अन्जन भण्डारीको बीमा सम्बन्धि एउटा भिडियो देखे पश्चात बीमा क्षेत्रमा लागेर केही गर्छु भन्ने सोंच बनाए । सबैभन्दा पहिले म तत्कालीन गुराँस लाइफ इन्स्योरेन्समा आवद्ध भएको थिए ।

त्यसपछि एक जना नजिकको साथीका कारण नेपाल लाइफमा आवद्ध भए । सबै कुरा थाहा पाए वैदेशिक रोजगारमै मलेसियामा रहदा नेशनल लाइफ इन्स्योरेन्सका ह्याट्रीक बिजेता सम्मानिय दाजु शंकर लामिछाने सङ्गभेट भएपछि झन ढुक्कसङ्ग नेशनल लाइफमा आबद्ध हुन हौसला मिलेको थियो ।  अन्तिममा सबैकुरा थाहा पाएपछि विगत पाँच वर्षदेखि नेशनल लाइफ इन्स्योरेन्समा सिनियर एजेन्सी म्यानेजरको रुपमा सक्रिय छुँ ।

बीमा क्षेत्रमा प्रवेश गर्ने समयमा बीमाप्रति अहिलेको जस्तो राम्रो माहोल थिएन । उतिबेला त बीमा गर्न गाउँ टोलतिर गयो भने चोर आयो समेत भन्ने अवस्था थियो ।

नेशनल लाइफमा तपाइले सहकार्य गरिरहँदा कस्तो अनुभूति गरिरहनु भएको छ ?

–नेशनल लाइफ इन्स्योरेन्स जस्तो सबैभन्दा राम्रो जीवन बीमा कम्पनीमा सहकार्य गर्न पाँउदा आफैलाई गौरवान्वित महशुुस गरिरहेको छु । किन भने स्थापना, व्यवस्थापकीय पद्दती तथा समग्रमा अब्वल रहेको कम्पनीमा जोडिएर काम गर्न पाउँदा र बीमितलाई सेवा दिन पाउँदा एकदमै खुशी छु ।

नेशनल लाइफ इन्स्योरेन्समै रहिरहनुको कारण ?

–नेशनल लाइफ इन्स्योरेन्समै आवद्ध हुनुका धेरै कारणहरु छन् । म सुरुमा तत्कालीन गुराँस लाइफमा आवद्ध थिए । मैलै त्यो कम्पनीमा बीमा गराउँदा पनि आफ्नै दाईको बीमा गराए । विभिन्न सामाजिक सञ्जाल र समाचारको रुपमा दाई म भन्दा धेरै अगाडि थिए । त्यसपछि उहाँले मलाई यी कम्पनी भन्दा पनि बढी बोनश दिने रिटर्न अर्निङ दिने कम्पनीहरु पनि बजारमा छन् भन्ने कुरा बताए । त्यसपछि म आफैं पनि सोच्न बाध्य भए र नेपाल लाइफमा गएँ । अन्तिममा म व्यवस्थापकीय रुपमा धरै राम्रो रहेको नेशनल लाइफमा आवद्ध भएर काम गरिरहेको छु ।

बीमा क्षेत्रको भविष्य कस्तो देख्नुहुन्छ ?

–विगतमा गोरेटोका रुपमा रहेको बीमा बजार अहिले राजमार्गको रुपमा स्थापित भैसकेको छ । यसको मतलव हिजोको दिनमा कुनै पनि व्यवसाय गर्ने मानिसलाई बीमाको कुरा लगेर जाँदा उनीहरुले फेरि बीमाको ठग आयो भन्ने गर्थे । तर, आजका दिनमा ओहो बीमा त चाँहिने कुरा हो, भन्ने प्रतिक्रिया आउँछ । बीमा हामीलाई आवश्यकता छ भन्नेसम्मको वातावरण निर्माण भइसकेको छ । भोलिको दिनमा अझै यो फराकिलो हुदै जानेछ अथवा हामी अभिकर्ता र बीमा क्षेत्रमा आवद्ध रहेका मानिसहरुले यसलाई अझै अगाडि लैजान आवश्यक छ ।

अहिले जीवन बीमाको बजार कस्तो छ ? बीमा गर्न कत्तिको गाह्रो, अप्ठेरो छ ?

– हिजोको दिनमा बीमाले मानिसलाई डुबाउछ, भन्ने मनस्थिति थियो भने, आज मानिसहरुले आफैं बीमा अभिकर्तालाई बोलाएर समेत बीमा गराउने अवस्था बनेको छ । हिजोका दिनमा बीमा सम्बन्धी धेरै अप्जेक्सन आउँथ्यो । तर, आज त्यस्ता अप्जेक्सन कम भइसकेका छन् । मानिसहरुले बीमा आवश्यक हो, पैसा छैन, र पनि थोरै–थोरै जम्मा गरेर बीमा गर्छु भन्ने समेत अवस्था बनिसकेको छ ।

आजका दिनमा बीमा अभिकर्ताहरुले आम नागरिकलाई उनीहरुको उमेर, आर्थिक अवस्था र बीमा सम्बन्धी जनचेतनाको अवस्था हेरेर बीमा गराउने हो भने, सजिलो छ । उहाँहरुलाई बीमाका सबल पक्षहरु सरल तरिकाले बुझाउन बीमा अभिकर्ताको ठूलो महत्व हुन्छ ।

तपाइले अहिलेसम्म कतिवटा पोलिसी विक्री गर्नुभयो ? आम नागरिकलाई तपाईले कस्ता प्रकारका बीमा पोलिसी विक्री गर्नुहुन्छ ?

–मैले लगभग पछिल्लो चार वर्षको अवधिमा साढे चार सय भन्दा बढी बीमा पोलिसी विक्री गरेको छु । हामीले बीमा पोलिसी विक्री गर्दा उहाँहरुको रुचि, चाहाना, बचत गर्न सक्ने क्षमतालाई मध्यनजर गरेर बीमा पोलिसी छनोट गरी विक्री गर्ने गरेका छौँ । म जो व्यापारी छ, उनलाई त्यही अनुसारको बीमा पोलिसी छनोट गरेर दिन्छु । नियमित र सीमित कमाई हुने कर्मचारी तथा शिक्षकलाई उनीहरुको आर्थिक अवस्था र चाहाना अनुसारको बीमा पोलिसी विक्री गर्ने गरेको छु ।

बीमा अभिकर्ता भन्ने वित्तिकै मानिसहरु शंकाको दृष्टिले हेर्छन्, तर बीमा अभिकर्ताहरु अन्तर्राष्ट्रिय प्लेटफर्म एमडीआरटीमा समेत उपस्थित भएर वैभवशाली र उच्च सम्मान प्राप्त गरिरहेका छन्, कुरा के हो ?

–सुरु–सुरुमा मानिसहरुले बीमा अभिकर्ताहरुलाई हेर्ने दृष्टि नै त्यस्तै थियो तर, आजका दिन अलि फरक अवस्था छ । जस्तै मैले नै २०२३ र २४ मा एमडीआरटी अचिभ गरिसकेपछि मानिसले मलाई हेर्ने र मैले फेश गर्नुपर्ने प्रश्न पनि सहज छन् । हिजोको दिनमा म वैदेशिक रोजगारीको शिलशिलामा रहेका बेला कहिले फर्किन्छौ, जस्ता प्रश्न मलाई आउँथे । तर, अहिले मानिसहरुले मेरो बारेमा कुरा गर्दा कसैको बीमा गर्नुपर्ने भए मलाई सम्पर्क गर्छन् । बजार हिजो भन्दा निकै राम्रो र सकारात्मक छ ।

आम बीमितलाई बीमा गराउन कसरी हौसला दिनुहुन्छ ?

–बीमा वास्तव मै दुःख, सुखको साथी हो । किन भने हामी निम्न एवं मध्यम वर्गीय आयस्रोत भएका मानिसले आफ्नो कमाइको थोरै हिस्सा बीमामा लगानी गर्दा भोलि आइपर्ने गाह्रो, अप्ठेरोमा असाध्य सहज हुन्छ । हामीले आफुलाई आवश्यक पर्दा कम्पनीबाट एक लाखभन्दा बढी ऋण सुविधा लिन पाउछौँ । बचत मात्रैको कारणले नभएर परिवारको सुरक्षाका लागि समेत बीमा आवश्यक छ, भनी हौसला दिने गरेको छु ।

बीमितहरुलाई सबैभन्दा अप्ठेरो पर्ने भनेको दावी भुक्तानीमा हो, यसलाई कसरी सरल पार्न सकिएला ?

–हिजोको दिनमा बीमा दावी भुक्तानीलाई लिएर फरक खालको परिस्थिति थियो । तर, अहिले त्यसरी चल्दैन । अवस्था फेरिएको पनि छ । अभिकर्ताले पनि बीमा दावी भुक्तानी गराउँदा नाफा–नोक्सानलाई बढी प्राथमिकता नदिई यसलाई नाफा भन्दा पनि सेवामुखि पेशाका रुपले हेर्न आवश्यक छ । बीमा पोलिसी विक्री गर्दा एकचोटी विक्री गरेपछि भैहाल्यो र मेरो काम सकियो भन्नु हुँदैन । यसमा एउटा निश्चित अवधि हुन्छ । उक्त अवधिसम्मको लागि करार सम्झौता गरिएको हुन्छ । सो अवधिमा बीमितलाई केही समस्या परिहाले सहजीकरण गर्नुपर्ने बीमा अभिकर्ताहरुको दायित्व हुन्छ । कम्पनीले बीमितलाई निश्चित अवधि पुगेपछि लोन सुविधा पनि प्रदान गरेको हुन्छ । अभिकर्ताले उहाँहरुलाई ऋण आवश्यक परेको अवस्थामा उपलब्ध गराइदिनु पर्छ ।

बीमितहरुको कागजपत्र सबै पुगेको, प्रक्रिया सबै पुगेको र परिपक्व भएको छ भने त्यस्तो अवस्थामा दावी भुक्तानीमा कुनै समस्या रहँदैन । तर, मृत्यु दावी र स्वास्थ्य लगायतका दावीमा बीमितहरुलाई दावी प्रक्रियाका बारेमा जानकारी नभएका कारण पनि समस्याहरु आउने गरेको छ ।

तपाइले हालसम्म कति वटा दावी भुक्तनी गर्नुभएको छ ?

– म व्यवसायिक रुपमा बीमा बजारमा आवद्ध भएको लामो समय भएको छैन । मैले केही मृत्यु दावी भुक्तानी र दुर्घटना सम्बन्धी दावी भुक्तानी गरेको छु ।

नेशनल लाइफ इन्स्योरेन्सले अभिकर्तालाई दिइरहेको सेवा सुविधाप्रति सन्तुष्ट हुनुहुन्छ ?

–पक्कै पनि, मानिस बढी आशा अपेक्षा राख्ने प्राणी भएको हुनाले थप केही अपेक्षा राख्नु स्वभाविक हो । तर, अहिले मैलै जे खाईपाई आएको छु, त्यसबाट म सन्तुष्ट र खुशी छु । र, अर्को कुरा भनेको बीमा अभिकर्ताको हकमा नाफा, घाटा वा कमाई मात्रै भन्दा पनि सेवा भाव समेत जोडिएको हुन्छ । त्यस कारण पनि यसमा अन्यथा मानिरहनु पर्ने देख्दिन । आगामी दिनमा पनि यसै तरिकाले म अघि बढ्ने मनस्थितिमा छुँ ।

अन्त्यमा तपाइको भन्नु केही छ ?

–म के भन्छुँ, भने बीमा हामी सबैका लागि आवश्यक छ । बीमा सबैलाई नभई हुँदैन । बीमाप्रति जुन आम नागरिकको शंकाको धारणा छ, त्यो मेटाउन यससम्बन्धी आवश्यक जानकारी लिन आग्रह गर्दछु । गाँउ समाजमा कुरा बुझ्नु भन्दा पहिले उठ्ने सामान्य विषय वा सवाल स्वभाविक छन् । तर, वौद्धिक क्षमता भएका मानिसहरुले बीमालाई बुझ्ने, बुझाउने प्रचलन बसाउन सके अतिउत्तम हुन्छ । बैंकको शाखा प्रमुख भइसकेको व्यक्तिले समेत बीमाबारे अज्ञानता राख्नु र अमर्यादित टिकाटिप्पणी गर्नु दुःखद् हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*