डिसिईओमाथि बीमा प्राधिकरणको निगरानी, कम्पनीलाई विवरण पठाउन माग

२५ चैत्र २०८०, आईतवार १८:११

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको उपप्रमुख कार्यकारी (डिसिईओ)माथि निगरानी राख्न सुरु गरेको छ।बीमा कम्पनीहरुको संस्थागत सुशासन अन्तर्गत रहेको वा नरहेको भन्दै बीमा कम्पनीहरुलाई डिसिईओको विवरण पठाउन माग गरेको प्राधिकरणले जनाएको छ।

यसअघि संस्थागत सुशासन अन्तर्गत बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सिईओ)को सुपरिवेक्षण गर्ने प्राधिकरणले यसपटक डिसिईओको विवरणतर्फ सोझिएको छ ।

प्राधिकरणले एक साताभित्रै डिसिईओको विवरण माग गरेको छ । सो पश्चात् डिसिईओ नभएको कम्पनीमा ऐन अनुसार नै काम कारवाही गर्ने तयारी रहेको प्राधिकरणको एक अधिकारीले जानकारी दिएका छन् ।

हाल संचालनमा रहेका बीमा कम्पनीहरुमा डिसिईओ कतिमा छ वा छैनन् र कुन कम्पनीमा रिक्त छ भन्ने विवरण बुझन प्राधिकरणले विवरण माग गरेको कार्यकारी निर्देशक राजुरमण पौडेलले बताएका छन् ।

बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिकामा नै डीसीईओ अनिवार्य भएपनि कतिपय कम्पनीहरुले वेवास्ता गरेको भन्दै कम्पनीहरुलाई लिखित पत्र पठाउदै यसै साताभित्र विवरण पठाउन आग्रह गरिएको उनले जानकारी दिएका हुन् ।

बीमा कम्पनीहरुले सिईओ नियुक्तिको लागि प्राधिकरणबाट स्वीकृती लिने व्यवस्था रहेको छ।

तर डिसिईओको लागि भने कम्पनीको संचालक समितिको बहुनिर्णयले स्वीकृत हुने हुँदा प्राधिकरणसँग यसको रेकर्ड हुँदैन ।सो कारण पनि डिसिईओको विवरण माग गरिएको बुझिएको छ।

मर्जरपछि बीमा कम्पनीहरुको डिसिईओ पदलाई नै श्रेणीवद्ध दिएर राखेको कारण कसरी पठाउने भन्ने बिषयमा चिन्तित रहेको एक सिईओले बीमापोष्टलाई जानकारी दिएका छन् । ती बिषयलाई प्राधिकरणले कुन रुपमा हेर्ने भन्ने बिषयमा मर्जरमा गएका बीमा कम्पनीहरुको चिन्ता रहेको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*