१९ बीमा कम्पनीको शेयरमूल्य बढ्दा ५ को घट्यो, कुनको कति?

२६ चैत्र २०८०, सोमबार १२:४४

काठमाडौं । आइतबार नेप्से २२ अंकले बढेर कारोबार बन्द भएको छ । नेप्से बढेसँगै ११ उपसूचक उकालो लागेको छ । जसमा जीवन बीमा उपसूचक १.४२ र निर्जीवन बीमा उपसूचक ०.८८ प्रतिशतले उचालिएको हो ।

जीवन बीमा
आइतबार जीवन बीमा सेक्टरबाट कुल १२ कम्पनीहरु कारोबारमा आएका थिए । जसमध्ये नौं वटा कम्पनीको शेयरमूल्य बढ्यो भने बाँकी तीन कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ ।

त्यसदिन आइएमई लाइफको शेयरमूल्य सर्वाधिक ४.५७ प्रतिशतले बढेको छ । दोस्रोमा सानिमा रिलायन्सको ४.३२, तेस्रोमा सिटिजन लाइफको ३.३१ र चौथोमा एशियन लाइफको ३.०८ प्रतिशतले शेयरमूल्य बढेको छ । यता, सूर्यज्योति लाइफको भने सर्वाधिक २.७६ प्रतिशतले शेयरमूल्य घटेको छ ।

यससँगै हिमालयन लाइफको शेयरमूल्य सर्वाधिक कम ४०१ रुपैयाँ रहेको छ । रिलायबलको ४४२, सानिमा रिलायन्सको ४५९, सिटिजन लाइफको ४६५ र सूर्यज्योति लाइफको ४९९.८० रुपैयाँ कायम भएको छ ।

निर्जीवन बीमा
आइतबार निर्जीवन बीमा सेक्टरबाट जम्मा १२ कम्पनीहरु कारोबारमा आएका थिए । जसमध्ये दुई कम्पनीको शेयरमूल्य घट्यो भने बाँकी सबै कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।

त्यसदिन यूनाइटेड अजोडको शेयरमूल्य सर्वाधिक ३.८१ प्रतिशतले बढेको छ । दोस्रोमा आइजीआई प्रुडेन्सियलको २.३३, तेस्रोमा प्रभु इन्स्योरेन्सको २.२९, चौथो र पाँचौमा हिमालयन एभरेष्ट र सानिमा जिआईसीको समान २.२९ प्रतिशतले शेयरमूल्य बढेको छ । यता, राष्ट्रिय बीमा कम्पनीको सर्वाधिक १.४९ प्रतिशतले शेयरमूल्य घटेको छ ।

निर्जीवन बीमा कम्पनीहरुको शेयरमूल्य पाँच सय रुपैयाँमाथि रहेको छ । सानिमा जिआईसीको ५३२, आईजीआई प्रुडेन्सियलको ५३६.५०, यूनाइटेड अजोडको ५४५ तथा हिमालयन एभरेष्टको ५८० रुपैयाँ रहेको छ ।

आज सोमबार भने घोडेजात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ । जसकारण आज नेप्से बन्द रहेको छ । अब शेयर बजार मंगलबार चैत्र २७ गते बिहान ११ बजे खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*