१४ मध्ये ९ जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक, कुन कम्पनीका बीमितले कति पाउँछन् ?

२६ चैत्र २०८०, सोमबार १२:५३

काठमाडौं । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये ९  वटा कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७९।८० को लागि विभिन्न बीमालेखमा लागु हुनेगरी बोनसदर सार्वजनिक गरेका हुन् । उक्त बोनसदर कम्पनीहरुले आफ्नो आवश्यकता अनुसार जारी गरेका बीमा पोलिसीहरुमा लागु हुनेछ र सोही अनुसार बीमितहरुले पाउने छन् ।

हालसम्म सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ, मेट लाइफ, आइएमई लाइफ र एशियन लाइफ, एलआईसी नेपाल लाइफ, सन नेपाल लाइफ, राष्ट्रिय जीवन बीमा कम्पनी र सूर्यज्योति लाइफले नयाँ बोनसदर सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०७९।०८० को लागि नेपाल लाइफ, नेशनल लाइफ, हिमालयन लाइफ, सानिमा रिलायन्स लाइफ र प्रभु महालक्ष्मी लाइफले चाँही अझै पनि बोनसदर सार्वजनिक गरेका छैनन् ।

८ जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्कीय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेका हुन् । बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भएपछि कम्पनीहरूले संचालनमा ल्याएको तथा मुनाफामा सरिक हुने बीमालेखहरूको बीमाङ्कमा प्रतिहजारका दरले बोनस घोषणा गरिन्छ ।

कम्पनीहरुले घोषणा गरेको बोनशदर मृत्यु दाबी, पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा प्राधिकरणबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि समेत उक्त बोनश दर कायम हुने जनाएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स

कम्पनीको नयाँ बोनसदर अनुसार बीमितले अधिकतम् ७७ रुपैयाँसम्म बोनस पाउनेछन् । अग्रिम भुक्तानी सावधिक बीमालेखमा न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम् ५५ रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् । त्यस्तै, बार्षिक अग्रिम भुक्तानीमा २५ रुपैयाँदेखि २८ रुपैयाँसम्म बोनस पाउनेछन् । अग्रिम भुक्तानी बीमा पोलिसीमा बीमाङ्क रकम अग्रिम रुपमा फिर्ता भइसकेको हुँदा बोनस दर कम हुने गर्दछ ।

त्यस्तै, सिटिजन शुभारम्भ सावधिक प्लस बीमालेखमा अवधी अनुसार न्यूनतम ३५ रुपैयाँदेखि ७५ रुपैयाँसम्म प्रतिवर्ष प्रति हजारका दरले बीमितले बोनस पाउनेछन् । सावधिक (रेगुलर) बीमालेखमा बीमा अवधी अनुसार न्यूनतम ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म बोनस निर्धारण भएको छ ।

त्यस्तै, सिटिजन बाल भविष्य बीमालेख अन्तर्गत न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम् ६७ रुपैयाँसम्म बोनस पाउनेछन् । त्यस्तै, सावधिक तथा आजिवन बीमालेख (सिटिजन जीवन सारथी) मा बीमा अवधी अनुसार न्यूनतम ३७ रुपैयाँदेखि ७७ रुपैयाँसम्म बोनस दर निर्धारण भएको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

कम्पनीको नयाँ बोनसदर अनुसार बीमितले अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन् । रिलायबल सावधिक जीवन बीमालेखमा न्यूनतम ५० रुपैयाँदेखि अधिकतममा ७५ रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् । त्यस्तै, लघु सावधिक जीवन बीमालेखको सबै बीमा अवधिहरमा ३० रुपैयाँका दरले तथा रिलायबल सजिलो जीवन बीमा (एकल तथा सिमित अवधि भुक्तानी) का सबै बीमा अवधिहरुमा २५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

त्यस्तै, रिलायबल सुलभ जीवन बीमालेख तथा सुलभ बाल जीवन बीमालेख प्लस योजनामा न्यूनतम २४ रुपैयाँदेखि अधिकतममा ४० रुपैयाँसम्म बोनसदर निर्धारण गरिएको छ । रिलायबल उच्च शिक्षा योजना (बालबच्चाको सावधिक बीमालेख) मा न्यूनतम ६० रुपैयाँदेखि अधिकतममा ६५ रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

कम्पनीको सावधिक तथा आजिवन बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतममा ५० रुपैयाँसम्म बोनस बीमितले पाउने भएका छन् । कम्पनीले रिलायबल समुन्नती जीवन बीमाको सबै बीमा अवधिहरुमा २० रुपैयाँ बोनस दिने भएको छ । त्यस्तै, कम्पनीले रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा न्यूनतम ५० रुपैयाँदेखि अधिकतममा ५५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

मेट लाइफ इन्स्योरेन्स

कम्पनीको नयाँ बोनसदर अनुसार बीमितले अधिकतम् ८० रुपैयाँसम्म बोनस पाउनेछन् । अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्युनतम ४५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनसदर पाउनेछन् । कम्पनीले यसमा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रति हजार ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि ५५ रुपैयाँ र २१ वर्ष र सोभन्दा माथिको लागि प्रति हजार ६५ रुपैयाँसम्म बोनस निर्धारण गरिएको छ ।

त्यस्तै, सावधिक जीवन बीमालेखमा न्युनतम प्रति हजार ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्मको बोनस पाउनेछन् । कम्पनीले यसमा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रति हजार ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ तथा २१ वर्ष र सोभन्दा माथिको लागि प्रति हजार ८० रुपैयाँसम्म बोनस निर्धारण गरेको हो ।

कम्पनीले शिक्षा संरक्षण जीवन बीमालेखमा न्यूनतम ६० रुपैयाँदेखि ८० रुपैयाँसम्म दिने भएको छ । कम्पनीले यसमा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रति हजार ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ त्यस्तै, २१ वर्ष र सोभन्दा माथिको लागि प्रति हजार ८० रुपैयाँसम्म बोनसदर कम्पनीले निर्धारण गरेको छ ।

एशियन लाइफ इन्स्योरेन्स

कम्पनीको नयाँ बोनसदर अनुसार बीमितले अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने भएका छन् । सावधिक तथा आजिवन बीमालेखमा न्यूनतम् ६१ रुपैयाँदेखि बीमा पोलिसीका अवधीका आधारमा क्रमशः बृद्धि भई अधिकतम् ७५ रुपैयाँ प्रति वर्ष प्रति हजार रुपैयाँका दरले बोनस पाइनेछ ।

त्यस्तै, सावधिक जीवन बीमालेखमा न्यूनतम् ४५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म प्रतिवर्ष प्रतिहजार रुपैयाँका दरल बीमितहरुले बोनस पाउनेछन् ।बालबालिका सावधिक जीवन बीमालेखमा अवधी अनुसार न्यूनतम ४४ रुपैयाँदेखि ६० रुपैयाँ बोनस पाइनेछ ।

त्यस्तै, सामूहिक, सावधिक, नवरत्न, जीवन संगिनी, दम्पत्ति सुरक्षा, बाल उच्च शिक्षा बीमा पोलिसीहरुमा न्यूनतम ४२ रुपैयाँदेखि बीमा पोलिसीको अवधी अनुसार ५० रुपैयाँसम्म बोनसदर निर्धारण भएको छ । त्यस्तै, अग्रिम भुक्तानी, एकल बीमालेखमा ५० रुपैयाँ र ७० रुपैयाँ प्रतिबर्ष प्रतिहजार रुपैयाँका दरले बोनसदर निर्धारण गरिएको छ ।

आइएमई लाइफ इन्स्योरेन्स

कम्पनीको नयाँ बोनसदर अनुसार बीमितले अधिकतम ८० रुपैयाँसम्म बोनस पाउने भएका छन् । सामूहिक बाल सावधिक बीमा पोलिसीमा न्यूनतम् ३२ रूपैयाँदेखि ७० रूपैयाँँसम्म प्रतिवर्ष र प्रति हजार रूपैयाँ बोनस पाउनेछन् । त्यस्तै सावधिक तथा आजिवन बीमा पोलिसीमा बीमा अवधी अनुसार प्रतिवर्ष प्रतिहजार ३२ रूपैयाँदेखि ८० रूपैयाँसम्म बीमितले बोनस पाउनेछन् ।

अग्रिम भुक्तानी तथा आजिवन बीमा पोलिसीमा न्यूनतम् ३२ रूपैयाँदेखि ६३ रूपैयाँ बोनस पाउनेछन् । अग्रिम भुक्तानी सावधिक बीमामा ३० रूपैयाँदेखि ६३ रूपैयाँ बोनसदर घोषणा गरिएको छ । बाल अग्रिम भुक्तानी सावधिक ३० रूपैयाँदेखि ६५ रूपैयाँ बोनस बीमितले पाउनेछन् ।

त्यस्तै, बाल अग्रिम भुक्तानी सावधिक बीमामा न्युनतम् ३० रूपैयाँदेखि ६० रूपैयाँ बोनस निर्धारण गरिएको छ । साथै बार्षिक अग्रिम भुक्तानी बीमा पोलिसीमा सबै अवधीमा २२ रूपैयाँ बोनस निर्धारण गरिएको छ ।

सन नेपाल लाइफ

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितले न्यूनतम २५ देखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन् । कम्पनीका अनुसार सनलाइफ सावधिक जीवन बीमालेखमा बीमितले बीमा अवधिका अनुसार न्यूनतम ३० रुपैयाँदेखि अधिकतममा ५० रुपैयाँसम्म प्रतिवर्ष र प्रतिहजार रुपैयाँ बोनस पाउनेछन् ।

त्यस्तै, भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावधिक) मा बीमा अवधि अनुसार प्रतिवर्ष प्रतिहजार न्यूनतम ३० रुपैयाँदेखि ५० रुपैयाँसम्म बीमितले बोनस पाउनेछन् ।

त्यसैगरी, बाल समृद्ध जीवन बीमालेख (बालबालिकाको सावधिक बीमा) मा बीमितले बीमा अवधि अनुसार ३० रुपैयाँदेखि ५० रुपैयाँ प्रतिहजारका दरले बोनस पाउने भएका छन् । सुनौलो सावधिक जीवन बीमामा पनि १५ देखि १९ उमेर समूहका बीमितले ३० रुपैयाँ र २० देखि २४ उमेर समूहका बीमितले ५० रुपैयाँ प्रतिहजारका दरले बोनस पाउने भएका छन् ।

कम्पनीले नवीन आजिवन बीमालेख (सावधिक तथा आजीवन) मा बीमालेख अवधि अनुसार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतममा ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । यता सार्थक आजीवन बीमालेख (अग्रिम भुक्तानी तथा आजीवन) मा सबै बीमा अवधिका लागि ४२ रुपैयाँ बोनसदर कायम गरिएको छ । सिमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावधिक बीमा योजनाहरु (धनलक्ष्मी बीमा योजना समेत) मा कम्पनीले २५ रुपैयाँदेखि २७ रुपैयाँसम्म बोनस दिने भएको छ ।

कम्पनीले धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमाामा बीमा अवधिअनुसार बीमितलाई न्यूनतम २५ रुपैयाँदेखि अधिकतममा २७ रुपैयाँसम्म बोनस निर्धारण गरिएको छ ।

एलआईसी नेपाल लाइफ

कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार सावधिक, जीवन बीमा, जीवन साथी र जीवन श्री बीमा योजनामा बीमितले न्यूनतम ५१ रुपैयाँदेखि ६१ रुपैयाँसम्म प्रतिवर्ष र प्रतिहजार रुपैयाँ बोनस पाउनेछन् ।

त्यस्तै, जीवन आनन्द बीमा योजनामा बीमालेख अवधिअनुसार बीमितले ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस प्राप्त गर्न सक्ने भएका छन् । कम्पनीले बाल सावधिक बीमा योजनामा बीमालेख अवधिअनुसार न्यूनतम ५१ रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

त्यसैगरी, धन वृष्टि बीमा योजनामा न्यूनतम ५५ रुपैयाँदेखि ५७ रुपैयाँसम्म बोनसदर तोकिएको छ । धनफिर्ता बीमा योजनामा भने बीमालेख अवधि अनुसार न्यूनतम ५६ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

यता, बाल ममता र बाल स्नेह बीमा योजनामा बीमालेख अवधिअनुसार बीमितले ५५ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस पाउने भएका छन् भने जीवन तरंग बीमा योजनामा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ४५ रुपैयाँसम्म बीमितले बोनस पाउने भएका छन् ।

कम्पनीले न्यू जीवन तरंगमा बीमालेख अवधिअनुसार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म बोनस दिने भएको छ । त्यसैगरी कम्पनीले जीवन बचत बीमा योजनामा बीमालेखको अवधि अनुसार न्यूनतम ४१ रुपैयाँदेखि ६१ रुपैयाँसम्म बोनस दिने निर्णय गरेको छ ।

कम्पनीले जीवन लाभ बीमा योजनामा न्यूनतम ५१ रुपैयाँदेखि ५५ रुपैयाँसम्म बोनस दिने भएको छ भने लघु सावधिक बीमा योजनामा सबै अवधिका बीमालेखमा ४१ रुपैयाँ बोनस दिने भएको छ । कम्पनीले सार्वजनिक गरेको यो बोनसदर नेपाल बीमा प्राधिकरणबाट अर्काे व्यवस्था नभए सम्मको लागि कायम रहने जनाएको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनी

राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरेको सबै प्रकारको बीमालेखहरुमा प्रतिहजार प्रति वर्ष ६५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको हो ।

कम्पनीको (साविक राष्ट्रिय बीमा संस्थान) को आर्थिक वर्ष २०६७/ ६८ देखि आर्थिक वर्ष २०६९/ ७० सम्म कायम रहेको जम्मा बीमालेख संख्या १ लाख ६२ हजार ७२१ को आर्थिक स्थितीको लेखाजोखा र दायित्व मुल्याङ्क सम्बन्धी बीमाङ्कीय मूल्याङ्क प्रतिवेदन प्राधिकरणबाट माघ १७ गते स्वीकृत भएको छ । सोहि अनुसार नयाँ बोनसदर निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स

सुर्यज्योति लाइफले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितले न्युनतम २० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

कम्पनीले सावधिक जीवन बीमा योजनामा बीमा अवधि अनुसार ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ । यसमा सुरक्षित बचत जीवन बीमा योजना–०१, सुनौलो भविष्य बाल जीन बीमा योजना–०५, एकल तथा सिमित अवधि भुक्तानी (विकल्प १) योजना–०६ र एकल तथा सिमित अवधि भुक्तानी (विकल्प २) योजना–०७ जस्ता बीमा योजना रहेका छन् ।

त्यसैगरी कम्पनीले सावधिक तथा आजीवन बीमा योजनाको सुरक्षित भविष्य जीवन बीमा योजना–०३ मा बीमा अवधि अनुसार ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ । यता, सावधिक तथा आजीवन बीमा योजनाकै सुदर्शन सावधिक तथा आजीवन बीमा–५२ मा भने बीमा अवधि अनुसार ४० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिने निर्णय कम्पनीले गरेको छ ।

अग्रिम भुक्तानी सावधिक बीमा योजनाको धन लाभ जीवन बीमा योजना–०२ र थ्रि ट्वेन्टी धन बहार जीवन बीमा योजना–०९ मा बीमितले ४३ रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनस पाउने भएका छन् । त्यस्तै, कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमा योजनाकै आसाधन अग्रिम भुक्तानी जीवन बीमा योजना–६१।६२, धनवृद्धि जीवन बीमा योजना (अग्रिम भुक्तानी)–६३।६४।६५, सजिलो (वार्षिक) भुक्तानी जीवन बीमा योजना–६६ र अग्रिम भुक्तानी बाल जीवन बीमा योजना–७३ मा बीमा अवधिअनुसार ४२ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस दिने भएको छ ।

त्यस्तै, चौरासी पुजा अग्रिम भुक्तानी (नियमित) बीमा योजनामा ४५ रुपैयाँदेखि ७० रुपैयाँसम्म, चौरासी पुजा अग्रिम भुक्तानी (एकल) बीमा योजनामा ७५ रुपैयाँदेखि ९० रुपैयाँसम्म र इजि पे अग्रिम भुक्तानी बीमा योजनामा बीमा अवधि अनुसार बीमितले २० रुपैयाँदेखि ३० रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*