कोहल्वी नगरपालिकामा बीमा प्राधिकरण मधेस प्रदेशको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१२ बैशाख २०८१, बुधबार १३:०८

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले आ.व २०८०।८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम यहि बैशाख ११ गते बारा जिल्लाको कोहल्वी नगरपालिकासँग उक्त पालिकाको सभा हलमा सम्पन्न गरेको छ ।

प्राधिकरणका सहायक निर्देशक निर्मल खनालले नेपाल बीमा प्राधिकरणको परिचय, काम कर्तव्य र अधिकार, बीमाको परिचय, कृषि जडिबुटि तथा पशुपन्छी बीमा, लघु बीमा लगायतका अन्य विषयमा आफ्नो प्रस्तुतिकरण गरेका थिए ।

प्रस्तुतिकरण पश्चातको छलफल कार्यक्रममा सहभागीहरुले जीवन र निर्जीवन बीमा एवं कृषि तथा पशुपन्छी बीमाका विविध विषयमा जिज्ञासा राखेका थिए । छलफलका क्रममा उठेका प्रश्न एवं जिज्ञासाको जवाफ प्राधिकरणका सहायक निर्देशक निर्मल खनालले दिएका थिए । साथै, जीवन र निर्जीवन बीमकका प्रतिनिधि एवं कृषि प्राविधिकले समेत स्थानीय भाषामा उठेका जिज्ञासाको जवाफ दिएका थिए ।

कार्यक्रमका अतिथि पालिकाको २ नं. वडाका वडाध्यक्ष गोपाल प्रसाद अधिकारीले कृषि बीमाको बारेमा अधिकाशं कृषकलाई जानकारी नभएको र दाबी प्रक्रियामा पनि पर्याप्त ज्ञान नभएको हुँदा यसमा सुधार गर्नुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि एवं नगर प्रमुख राम चौधरीले कृषि बीमाको माध्यमबाट कृषकको लगानी सुरक्षा प्रदान गर्नु पर्ने र बीमा सम्बन्धी प्रक्रियामा समेत सरलीकरण गर्नुपर्ने बताए ।

साथै आगामी आर्थिक वर्षदेखी राहत अनुदानका कार्यक्रम भन्दा पनि नागरिकको जोखिम पहिचान गरी सोको बीमा गरिदिने र कृषि बीमालाई समेत सहयोग पुग्ने गरी बजेत तथा कार्यक्रम तर्जुमा गर्ने प्रतिवद्धता व्यक्त गरे । अन्तयमा, कार्यक्रमको आयोजना गरी कृषि बीमा लगायतका विविध बीमाको सम्बन्धमा जानकारी प्रदान गरी जनप्रतिनिधि, कृषक एवं स्थानीय नागरिकहरुलाई यस सम्बन्धमा सुसूचित हुने अवसर प्रदान गरेकोमा नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको समापनमा प्राधिकरणको मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले कृषि बीमा सम्बन्धी समस्या छिटै समाधान हुने र बीमा सम्बन्धी प्रक्रियागत सरलीकरणका लागि निरन्तर कार्य भईरहेको बताईन् । साथै पालिका स्वयंले आफ्ना भौतिक संरचना र विपन्न नागरिकको बीमा गरी यस अभियानलाई सुरुवात गर्न र पालिकाको सेवालाई बीमासँग आवद्ध गर्न अनुरोध गरिन् । बीमा गर्दा यसका सेवा शर्तहरु बुझि बीमा गर्न र बीमाशुल्क तिरे पश्चात अनिवार्य रुपमा रसिद लिन अनुरोध गर्दै छलफलका क्रममा उठेका अन्य प्रश्न एवं जिज्ञासालाई थप स्पष्ट पार्दै बीमा कम्पनीका प्रतिनिधिहरुलाई समय समयमा पालिकामा आई आवश्यक समन्वय गर्न निर्देशन प्रदान गर्दै कार्यक्रम समापन गरेकी थिइन् ।

 

 

उक्त कार्यक्रमको सभापतित्व नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा उक्त नगरपालिकाको नगर प्रमुख राम प्रसाद चौधरी, विशेष अतिथिको रुपमा नगर उपप्रमुख लक्ष्मी कुमारी चौधरी, अतिथिको रुममा पालिकाको प्रमुख प्रशासकिय अधिकृत पितानाथ लुइटेल र विभिन्न वडाका वडाध्यक्षहरु रहेका थिए ।

उक्त कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक निर्मल खनालले गरेका थिए । कार्यक्रममा विभिन्न वडा वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, पालिकाका कर्मचारीहरु, अगुवा कृषकहरु, नागरिक समाजका प्रतिनिधिहरु, अन्य सरोकारवाला लगायत बीमकका शाखा कार्यालयका प्रतिनिधिहरु गरी करिब ८० जना भन्दा बढीको सहभागिता रहेको सहायक निर्देशक खनालले जानकारी दिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*