तीन कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा, न्यूनतम मूल्य कति?

१४ बैशाख २०८१, शुक्रबार ०७:२६

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले आफ्ना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको संस्थापक शेयर आज (वैशाख १४ गते) देखि लिलामीमा ल्याएका छन् । कम्पनीहरूले विद्यमान संस्थापक शेयरधनीहरू वा जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाहरूले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.को स्वामित्वमा रहेको ३५ हजार कित्ता शेयर लिलामीमा ल्याएको छ । यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ । यस शेयर खरिदका लागि बोलपत्र पेश गर्दा न्यूनतम पाँच हजार कित्ता र अधिकतमा सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।

नेशनल लाइफ इन्स्योरेन्सले स्वदेशी सेक्युरिटिज् एण्ड इन्भेष्टमेन्ट प्रा.लि.को स्वामित्वमा रहेको १५ हजार ९४५ कित्ता शेयर लिलामीमा ल्याएको छ । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२५ रुपैयाँ रहेको छ । यस शेयरमा न्यूनतम दुई हजार कित्ता र अधिकतममा सबै कित्ता शेयर खरिदका लागि बोलपत्र पेश गर्न सकिनेछ ।

ग्रामीण विकास लघुवित्तले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि र श्री गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट प्रा.लि.को स्वामित्वमा रहेको क्रमशः २८ हजार कित्ता र २२ हजार ५०० कित्ता शेयर लिलामीमा ल्याएको हो । यी दुबै लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ । यी शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम पाँच हजार कित्ता र अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सकिनेछ ।

उल्लेखित लिलामी शेयर खरिदका लागि आवेदन दिदा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र काठमाडौंको थापाथलीस्थित ट्रेड टावर भवनको चौथो तल्लामा रहेको एनआईसी एशिया क्यापिटल लिमिटेडमा पेश गर्नुपर्नेछ । बोलपत्र आवेदन पनि सोही स्थानमा पाइनेछ । यी शेयरहरूमा आवेदन दिने अन्तिम मिति वैशाख २१ गतेसम्म रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*