बीमा कम्पनीका लगानीकर्ताहरुको गुनासो, बीमा कम्पनीभित्रै आयकरमा विभेद किन ?

२० बैशाख २०८१, बिहीबार १६:३९

काठमाडौं । निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरुले सरकारले निर्जीवन र जीवन बीमा कम्पनीहरुमा लगाएको आयकरमा बिभेद गरेको भन्दै तत्काल सच्याउन माग गरेका छन् । साथै उनीहरुले नेपाल बीमक संघलाई आवश्यक भूमिका निर्वाह गर्न समेत ध्यानाकर्षण गराएका छन् ।

निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरुले जीवन र निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरुलाई एकै प्रकारको कर लगाउनु पर्ने मागमाथि बीमक संघले कुनै पनि सहयोग नगरेको भन्दै प्रश्न खडा गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीमा लगानी गरेका शेयरधनीहरुले बीमा प्राधिकरणले जीवन बीमाका लगानीकर्तालाई २५ र निर्जीवन बीमा कम्पनीहरुका शेयरधनीहरुलाई ३० प्रतिशत कर लगाएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । साथै उनीहरुले निर्जीवन बीमा कम्पनीहरुमाथि यत्रो बिभेद हुँदा समेत नेपाल बीमक संघले कुनै भूमिका निर्वाह गर्न नसकेको समेत आरोप लगाएका छन् ।

निर्जीवन बीमा कम्पनीमा लगानी गरेका उत्सव श्रेष्ठले जीवन बीमा र निर्जीवन बीमा कम्पनीका शेयरधनीहरुले एकै प्रकारको कर तिर्ने व्यवस्था नहुनु विभेद भएको आरोप लगाए । उनले निर्जीवन बीमा कम्पनीका शेयरधनीहरुलाई बीमा प्राधिकरणले ३० प्रतिशत कर लगाएर मार पारेको आरोप लगाएका छन् ।

‘नेपाल बीमक संघले निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरुको हितमा कुनै पनि अवाज निकाल्न नसकेको र बीमा प्राधिकरणको इसारामा बीमक संघ नाचिरहेको छ ।’ शेयरधनी उत्सब श्रेष्ठले आक्रोश व्यक्त गरे ।

साथै, उनले नेपाल बीमक संघको नेतृत्व गरिरहेका प्रतिनिधिहरुले निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरुको हितमा काम गर्न नसकेको खण्डमा राजिनामा दिएर घरमा बस्न आग्रह गरेका छन् ।

निर्जीवन बीमा कम्पनीका अर्का शेयर लगानीकर्ता शत्रुघन श्रेष्ठले बीमा क्षेत्रका लगानीकर्ताहरुलाई एकै प्रकारको आयकरको व्यवस्था गर्न आग्रह गरेका छन् । उनले भने, ‘सरकारले बीमा क्षेत्र भित्रकै लगानीकर्ताहरुलाई विभेदपूर्ण व्यवहार गरेको छ । यस सन्दर्भमा नेपाल बीमक संघले आवाज उठाउन जरुरी रहेको छ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*