अन्नप्राशनको अवसरमा भाञ्जीले पाइन् हिमालयन लाइफको बीमा पोलिसी उपहार

२३ बैशाख २०८१, आईतवार १२:२५

काठमाडौं । भाञ्जीको अन्नप्राशन (भात खुवाई) कार्यक्रमको अवसरमा मामाले हिमालयन लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार दिएका छन् । दोलखाको बिगु गाउँपालिका–५ चिलंखा स्थायी घर भइ हाल काठमाडौंमा बसोबास गरिरहेका मामाद्वय ज्योति जीसी र जीवन जीसी तथा माइजु रोजिना बुढाथोकीले भाञ्जी श्रीयान्शी खड्कालाई दक्षिणास्वरुप हिमालयन लाइफ इन्स्योरेन्सको पाँच लाख रुपैयाँ बीमाङ्क भएको बीमा पोलिसी उपहार दिएका हुन् ।

बीमाले जीवनको जोखिम बहन गर्नाका साथै बचतको बानीको समेत विकास गर्ने भएकाले दक्षिणामा नगद र जिन्सीको सट्टा बीमालेख दिएको ज्योति जीसीले बताए ।

‘पहिला–पहिला धेरै अभिकर्ताहरूले मलाई बीमा बुझाउने प्रयत्न गर्नुभयो, त्यसबेला मैले बुझ्ने प्रयास नै गरिनँ । तर, जब मैले बुझेँ बीमा गर्नबाट म धेरै ढिला भइसकेको अनुभूति भयो,’ श्रीयान्शीका जेठो मामा ज्योति जीसीले भने, ‘अहिले मैले आफ्नो परिवारका अधिकांश सदस्यको बीमा गरेको छु । यसले हाम्रो परिवारको आर्थिक जोखिमलाई सुरक्षा प्रदान गरेको छ भने अभाव र अपुगकै बीचबाट केही रकम बचत समेत हुन थालेको छ ।’

आफ्ना आफन्तीहरूमा पनि बचत गर्ने बानीको विकास होस् र भविष्यमा आइपर्ने भवितव्यमा आंशिक रूपमा भए पनि आर्थिक सुरक्षा होस् भन्ने उद्देश्यले पछिल्लो समय दक्षिणाको सट्टामा जीवन बीमा उपहार दिन थालेको उनले बताए । ‘दक्षिणामा हामीले कसैलाई पनि दिने रकम धेरै हुँदैन । बीमालेख दक्षिणाका रुपमा दिँदा अवश्य पनि धेरै पैसा खर्च हुन्छ, खर्च भए पनि त्यसले आफन्तीहरूको परिवारमा महाठूलो महत्व राख्छ । उहाँहरूमा पनि जबरजस्त बचतको बानी विकास हुन्छ र आर्थिक रुपमा बलियो बन्दै जानुहुनेछ । त्यसले भविष्यमा तुलना गर्न नसकिने खुसी प्रदान गर्दछ उहाँहरू र मलाई पनि ।’

उनले पहिला पनि आफ्नी भाञ्जी आन्शी थापालाई बीमालेख दिएको स्मरण गर्दै भने, ‘मैले पहिला पनि अर्की भाञ्जीलाई मावलीको तर्फबाट बीमालेख दिएको थिएँ । त्यसले जस्तो अवस्था छ त्यस्तैबाट बचत गर्नुपर्छ भन्ने कुराले मेरा बहिनी–ज्वाइँलाई उत्साहित बनाएको पाएको छु । उहाँहरूले जति कमाइ गरिरहनुभएको छ त्यसैबाट बीमाको प्रिमियम पनि तिरिरहनुभएको छ । फलस्वरुप जीवन सुरक्षाका साथै बचत हुँदै गएकामा उहाँहरू खुसी हुनुभएको मैले पाएको छु ।’

जीसीले पोलिसी जारी गर्ने हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको गोकर्ण–जोरपाटी कार्यालयका शाखा प्रमुख गणेश लामिछाने र सम्बन्धित अभिकर्ता अनिता निरौलाप्रति आभार व्यक्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*