सामुदायिक विद्यालयमा एनआईसी एशिया बैंकको सहयोग

२४ बैशाख २०८१, सोमबार १०:०७

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन निर्माण गरेको छ । विद्यार्थीहरूलाई शैक्षिक सामग्री उपलब्ध गराउने उद्देश्यले बैंकले पुस्तकालय भवन निर्माण गरेको हो ।

बैंकले सुदूरपश्चिम प्रदेशको कैलालीस्थित जोशीपुर गाउँपालिकामा रहेको श्री मोहन्याल माध्यमिक विद्यालय, मधेश प्रदेशको सिराहास्थित भगवानपुर गाउँपालिकामा रहेको श्री बाला सुन्दरी माध्यमिक विद्यालयमा पुस्तकालयका लागि भवन निर्माण गरेको छ ।

त्यसैगरी, बैंकले कोशी प्रदेशको झापास्थित बुद्धशान्ती गाउँपालिकामा रहेको श्री आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिकामा रहेको श्री गौरीगञ्ज माध्यमिक विद्यालय र गण्डकी प्रदेशको तनहुस्थित बन्दिपुर गाउँपालिकामा रहेको श्री पवित्रा माध्यमिक विद्यालयको पुस्तकालयमा भवन निर्माण गरी बैंकले सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेको छ ।

त्यस्तै, मधेश प्रदेशको पर्सास्थित वीरगञ्ज महानगरपालिकामा रहेको श्री सिद्धार्थं माध्यमिक विद्यालय र लुम्बिनी प्रदेशको रुपन्देहीस्थित सियारी गाउँपालिकामा रहेको श्री पब्लिक सेकेन्डरी स्कुलको पुस्तकालय भवन निर्माण कार्य भइरहेको र बाग्मति प्रदेशको चितवनस्थित राप्ती नगरपालिकामा रहेको श्री विरेन्द्र आदर्श माध्यमिक विद्यालयको भवन निर्माणका लागि निर्माणकर्ता छनोट प्रकृया अगाडि बढिसकेको बैंकले जनाएको छ ।

बैंकले यी पुस्तकालय भवनहरू निर्माणका लागि कुल दुई करोड १३ लाख २३ हजार बजेट विनियोजन गरेको छ । यी पुस्तकालय भवनहरू निर्माणपछि उक्त विद्यालयहरुमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थीहरूप्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् ।

विद्यालयहरूमा अत्यावश्यक पुस्तकालय व्यवस्थापन गराई विद्यार्थीहरूलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरुमा पहुँच भई उनीहरुको शैक्षिक गुणस्तर बढ्ने एवं व्यक्तित्व विकासमा ठूलो सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*