शेयर प्रिमियमबाट २८.४ प्रतिशत लाभांश दिने सिटिजन लाइफको निर्णय बीमा प्राधिकरणद्धारा खारेज

२४ बैशाख २०८१, सोमबार १४:४७

काठमाडौं । सिटिजन लाइफले शेयर प्रिमियमबाट २८.४ प्रतिशत बोनस र नगद लाभांश दिने निर्णय विवादमा परेको छ । नियामक नेपाल बीमा प्राधिकरणले प्रक्रिया नपुगेको भन्दै सो निर्णय खारेज गरिदिएको छ ।

हिजो बसेको सञ्चालक समितिको बैठकले सिटिजन लाइफले चुक्ता पुँजि बृद्धि गर्ने उद्देश्यले २६.९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । सो निर्णय आज सार्वजनिक भए लगत्तै विवादमा परेको हो ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणले सिटिजन लाइफको सो निर्णय खारेज गरिएको जनाएको छ । हाल लेखा समितिमा विवादित अवस्थामा रहेको प्रिमियम मूल्यको शेयर बिक्री बापत शेयर प्रिमियम खातामा राखिएको रकमबाट उक्त लाभांश दिन लागिएकोमा नियामकले रोकेको हो ।

लेखा समितिमा छानविनकै क्रममा रहेकोले प्रिमियम मूल्यमा बिक्री गरिएको शेयर बापतको रकम वितरण गर्न अनुमति दिएमा बीमा प्राधिकरणमाथि नै संसदीय अवहेलनाको आरोप लाग्नेछ । यस्तै कारण परेका कारण यसअघि आइएमई लाइफको लाभांश पनि सच्याइएको थियो ।

सिटिजन लाइफले नियामकीय निर्देशन बमोजिम नै पुँजि बृद्धि गर्ने प्रयोजनको लागि शेयर प्रिमियमबाट बोनस शेयर जारी गरेर पाँच अर्ब चुक्ता पुँजि पुर्याउने प्रयोजनको लागि यस्तो निर्णय गरेको अनौपचारिक रुपमा जनाएको छ । कम्पनीले आजै सो प्रक्रियाको लागि नेपाल बीमा प्राधिकरणमा निवेदन समेत दर्ता गराएको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*