लगानीकर्ताको आँखामा छारो हाल्दै सर्वोत्तम सिमेन्ट, नियम विपरीत वित्तीय रिपोर्ट लुकाउँदा लाखौँको लगानी असुरक्षित

दिपक विष्ट
२५ बैशाख २०८१, मंगलवार १७:४३

काठमाडौँ । सर्वोत्तम सिमेन्टले नियम विपरीत वित्तीय विवरण लुकाइएको पाइएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासको वित्तीय रिपोर्ट सार्वजनिक नगरी तेस्रो त्रैमाससम्मको रिपोर्ट सार्वजनिक गरेको हो । नेपाल धितोपत्र बोर्डमा घुस सेटिङमा बुक बिल्डिङमा आईपिओ निष्कासन गरेको कम्पनीले गत असार मसान्तसम्मको वित्तीय विवरण गत पुसमा सार्वजनिक गरेको थियो ।

सो वित्तीय विवरणमा कम्पनीको नाफा ५५ प्रतिशतले घटेर जम्मा २० करोड रुपैयाँ खुम्चिएको थियो । कम्पनीले वैशाख १२ गते वार्षिक साधारण सभाबाट ६९ करोड ७५ लाख रुपैयाँ लाभांश वितरण गर्न प्रस्ताव पारित गरेको छ । सो लाभांश शेयरधनीसँग लिएको प्रिमियमबाट वितरण गरेको हो ।

शक्तिका आडमा मनपरी गरी रहेको कम्पनीको अगाडि नियामकले समेत आँखा चिम्लिने गरेको छ । एकातिर वित्तीय विवरण समयमा प्रकाशित नगर्ने तर अर्कोतिर ६९ करोड रुपैयाँ मुनाफा वितरण गर्नुका पछाडि नियामक निकायलाई अँध्यारोमा राख्न खोजेको देखिएको छ । दोस्रो बजारमा लगानीकर्ताले कम्पनीको वित्तीय रिपोर्ट हेरेर लगानी गर्ने गर्दछन् । तर, कम्पनीले लगानीकर्ताको आँखामा छारो हाल्न काम गरेको देखिन्छ । वित्तीय रिपोर्ट नै सार्वजनिक नगरी कम्पनीले लगानीकर्ता माथि कम्पनीले लुट धन्दा चलाइरहेको हो ।

वित्तीय रिपोर्ट लुकाइएको बारे कम्पनीलाई सम्पर्क गर्दा प्रकाशन नभएको प्रस्ट पारेको छ । दुई त्रैमाससम्मको वित्तीय रिपोर्ट तयार रहेको र प्रकाशन मात्र नगरेको बताएको हो । वित्तीय रिपोर्ट बीमापोष्टले माग गर्दा कम्पनीले भने आनाकानी तिर लागेको हो । पब्लिक कम्पनीले भए पनि वित्तीय रिपोर्ट नै नदिनु भनेको कैफियत भएको प्रस्ट हुन्छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक नगर्नुको कारणबारे बेला–बेला जिज्ञासा राख्दा कम्पनीले अन्तिममा दिन नमिल्ने बतायो । पब्लिक कम्पनी भएर लगानीकर्तालाई वित्तीय रिपोर्ट नै नदेखाएर अन्यौलमा पार्ने आफैमा बेइमानी काम भएको प्रस्ट हुन्छ ।

चालु आर्थिक वर्षको वित्तीय रिपोर्ट नाजुक हुँदा कम्पनीले सार्वजनिक नगर्ने निर्णय गरेको कम्पनी स्रोतले बताएको छ । ‘यस दुई त्रैमासमा कम्पनीका अधिकांश सूचक खराब अवस्थामा थिए । आइपिओ ल्याउन लागेको कम्पनीको खराब वित्तीय रिपोर्ट सार्वजनिक हुने कुराले कम्पनीको सञ्चालक र ब्यवथापनकको टिमले नै रिपोर्ट सार्वजनिक नगर्ने निर्णय गरेको हो । अहिले नेप्सेमा सूचीकृत भएपछि बाध्यात्मक अवस्थाले केही देखाउने गरी रिपोर्ट सार्वजनिक भएको हो’ कम्पनीले स्रोतले भन्यो ।

उनका अनुसार वित्तीय रिपोर्ट कम्पनीमा बाहेक कुनैलाई नदिन निर्देशन नै भएको छ । उनले भने, ‘कम्पनीकै मान्छे वित्तीय रिपोर्टको पहुँचमा छैन । पहुँचमा हुनेहरूलाई समेत कम्पनीका उच्च व्यवस्थापकहरूले कुनै मिडियालाई नदिन भनेको छ ।’

सर्वोत्तम सिमेन्ट नेप्सेमा वैशाख मात्र सूचीकृत भएको हुँदा अन्य त्रैमाससम्मको सार्वजनिक नगरेकोमा कारबाहीमा जान नमिल्ने बोर्डका सुपरिवेक्षण विभागका रुपेश केसीले बताए । ‘कम्पनीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आर्थिक वर्षको समेत खुलाएको छ । अब सबै त्रैमाससम्मको सार्वजनिक नगरे भने कारबाही हुन्छ’ केसीले भने ।

धितोपत्र बोर्डले अन्य त्रैमाससम्मको वित्तीय रिपोर्ट खोज्ने भए पनि शक्तिको आडमा कम्पनी आफ्नो वित्तीय रिपोर्ट बुझाउन तयार नरहेको बोर्डको उच्च स्रोतले बताएको छ । ‘हमाल सर (पूर्व अध्यक्ष रमेश कुमार हमाल) को पाला विवादै विवादको बिच कम्पनीको आइपिओ बुक बिल्डिङ मार्फत आएको हो । वित्तीय रिपोर्ट सिधै चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको सार्वजनिक भएको छ । तर, बोर्डले बिचको कम्पनीको सूचक समेत हेर्छ । च्याउ उम्रिए झैँ देखाएको वित्तीय रिपोर्ट त के स्वीकार हुन्छ’ उनले भने ।

धितोपत्र बोर्ड अहिले अध्यक्ष विहीन रहेको छ । नयाँ अध्यक्षले सर्वोत्तम सिमेन्टको फाइल खोल्ने हो भने कम्पनी अवस्था बाहिर सतहमा आउने छ । लगानीकर्ता गुमराहमा राखेर अनकौ अनियमितता गर्दै आइरहेको कम्पनीलाई कारबाही अब गर्ने सक्ने सक्षम अध्यक्ष बोर्डले पाउनु पर्नेछ । अब प्रश्न नियामक निकाय बोर्ड तिर उठेको छ ।

गैर कानुनी रूपमा जारी गरेको बुक बिल्डिङ आईपिओमाथि धेरै निकायमा छानबिनकै क्रममा रहेको छ । चालु आर्थिक वर्षको ९ महिनासम्ममा कम्पनीले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। चैत मसान्तसम्ममा कम्पनीले ४ अर्ब ५५ करोड ९० लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ। कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ४६ पैसा पुगेको छ । तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्क २१२ रुपैयाँ ७३ पैसा रहेको छ । लगानीकर्ताबाट ठुलो रकम असुलेको कम्पनीको आजै प्रतिशेयर आम्दानी भने नाजुक अवस्थामा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*