एनएमबि लघुवित्तको वित्तीय विवरणमा खराव प्रदर्शन, साढे ७ करोड नोक्सानसहित सबै सूचांकमा गिरावट

२६ बैशाख २०८१, बुधबार ११:२४

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार लघुवित्तका अधिकांश वित्तीय सूचांकहरुमा गिरावट देखिएको छ ।

चालु आवको तेस्रो त्रैमाससम्मका लघुवित्तले ७ करोड ४९ लाख ५३ हजार रुपैयाँ नोक्सान व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी घटेकोले कम्पनीले खुद नोक्सान व्यहोर्न परेको हो । कम्पनीले व्यवस्थापकीय खर्च र ऋणीहरुसँग लगानी उठाउन नसक्दा घाटा व्यहोर्नु परेको कम्पनीले स्रोतले जनाएको छ ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३२ दशमलव ४५ ले घटेर १७ करोड ५३ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २५ करोड ९६ लाख १३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष १ करोड ६१ लाख ३० हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको यस कम्पनीले यो वर्ष ७ करोड ५० लाख १३ हजार रुपैयाँ सञ्चालन नोक्सानी व्यहोरेको छ ।

चैत मसान्तसम्म आइपुग्दा एनएमबि लघुवित्तको चुक्ता पुँजी ७२ करोड १४ लाख ४९ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८५ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ २ पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*