मौद्रिक नीति तर्जुमा कार्यविधि संशोधन: त्रैमासको ४५ दिनभित्र समीक्षा गर्ने, बैंक वित्तिय र शेयर बजारको निति खुकुलो बनाउने तयारी

२६ बैशाख २०८१, बुधबार १३:१०

काठमाडौं । नेपाल राष्ट्र चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा आगामी जेठमा गर्ने भएको छ। राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि, ०७३ संशोधनमार्फत त्रैमासिक समीक्षा अवधि १५ दिन बढाएर ४५ दिन पुयाएको हो ।

यसअघि त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गरिने व्यवस्था थियो । कहिलेकाहीँ आवश्यक तथ्यांक तोकिएको समयमा नआउने भएकाले त्रैमासिक समीक्षा अवधि १५ दिन बढाएर ४५ दिन बनाइएको नेपाल राष्ट बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताए । कार्यविधि धेरै महिनाअघि नै संशोधन भए पनि अहिले सार्वजनिक मात्र गरिएको उनले जानकारी दिएका छन् ।

‘सञ्चालक समितिबाट पारित भएपछि सामान्यतः वार्षिक मौद्रिक नीति हरेक आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र र त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ४५ दिनभित्र सार्वजनिक गरिनेछ,’ संशोधित कार्यविधिमा भनिएको छ ।

चैतसम्मको तथ्यांक विश्लेषण गरेर मौद्रिक नीति तर्जुमा मस्यौदा तयार हुने र त्यसमा व्यवस्थापन समिति र सञ्चालक समितिको छलफलपछि सार्वजनिक हुने राष्ट बैंकले बताएको छ ।

राष्ट्र बैंक उच्च अधिकारीहरू पनि मौद्रिक नीति समीक्षामा नीतिगत परिवर्तन गर्नुपर्ने अवस्था नरहेको बताँउछन् । जेठ १५ मा बजेट आउने भएकाले तेस्रो त्रैमासमा सामान्य नीतिगत व्यवस्थाबाहेक अरु व्यवस्था परिमार्जन नहुने स्रोतले जनाएको छ ।

‘तेस्रो त्रैमासमा ठूलो नीतिगत परिमाजनको सम्भावना छैन,’ स्रोतले भन्यो, ‘अत्यावश्यकबाहेक बाँकी नयाँ विषय नयाँ मौद्रिक नीतिमार्फत नै आउला ।’

सरकारले कित्ताकाँट खोले पनि घरजग्गा कारोबारमा उत्साह नदेखिएको, सेयर बजार निरन्तर घटिरहेको, अटो बजारमा अपेक्षित रूपमा सुधार हुन नसकिरहेको बेला मौद्रिक नीतिमार्फत केही नीतिगत खुकुलोपन आउने अपेक्षा सरोकारवालाहरूले गरिरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*