अर्थमन्त्री पुनकै सामुन्ने अर्थविद वाग्लेले उठाए लघुबित्त कम्पनी खारेज गर्ने एजेण्डा

२७ बैशाख २०८१, बिहीबार १०:१९

काठमाडौं । पछिल्लो समय जनतालाई दुःख दिएको भन्दै चर्को आलोचना खेपिरहेको लघुवित्त कम्पनीहरुको भविष्य संकटमा पर्ने देखिएको छ । नेपालका चर्चित अर्थविद अच्यूत वाग्लेले नेपालमा सञ्चालित लघुवित्त कम्पनीहरुको औचित्य सकिएको भन्दै खारेज गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । आज आयोजित बजेट सम्बन्धी छलफल कार्यक्रममा अर्थविद वाग्लेले लघुवित्तले मूल मर्म अनुसार काम नगरेको र जनतालाई दुःख दिइरहेकोले खारेज गर्नुपर्ने बताएका हुन् ।

काठमाडौं विश्व विद्यालयका रजिष्ट्रार तथा अर्थविद वाग्लेले नेपालमा कुनै समय लघुवित्त कम्पनीहरुको आवश्यकता भएपनि अहिले देशका ७५२ वटै गाउपालिकामा बैंकहरु पुगिसकेको बताउँदै अब लघुवित्तको औचित्य नभएको स्पष्ट पारे । उनले भने, ‘सबै गाउँपालिकाहरुमा बैंकका शाखाहरु पुगिसकेको छ, अब लघुवित्तहरुको आवश्यकता र औचित्य छैन ।’

अर्थमन्त्री वर्षमान पुनकै सामुन्ने अर्थविद वाग्लेले लघुवित्तबाट जनता धेरै प्रताडित भएको बताउँदै यसको औचित्य नभएको बताएका हुन् । अर्थविद वाग्लेले लघुवित्त कम्पनीहरु खारेज गरेपछिको विकल्पबारे भने प्रष्ट्याएनन् । अर्थमन्त्री पुनले वाग्लेको सो एजेण्डामाथि कुनै प्रतिक्रिया जनाएनन् ।

आज विहान काठमाडौंमा आयोजित प्रि बजेटरी छलफल कार्यक्रममा अर्थविद वाग्लेले सहकारीको अवस्था भयावह भएको बताउँदै सहकारीले तीन खम्बे अर्थनीतिमा एक खम्बाको भूमिका निर्वाह गर्न चुकेको बताए । उनले भने, ‘सहकारी अर्थतन्त्रको तेस्रो पिल्लर होइन ।’

वाग्लेले देश तस्कर माफियाहरुले कब्जा गर्न लागेको बताउँदै सरकारले राजश्वको नयाँ नीति ल्याउनुपर्ने बताउँदै देशको अर्थतन्त्रमा अण्डर इन्भ्वाईस कन्ट्रोल गर्ने मेकानिजम आवश्यक रहेको बताए । उनका अनुुसार नेपालमा डेढ देखि दुई खर्ब अण्डर इन्भ्वाईसिङ हुँदै आएको छ । साथै आयकर बुझाउने जनताको दायरा बृद्धि गर्नुपर्ने बताए । अर्थविद वाग्लेले १६ औं पञ्च बर्षिय योजनाले जनतालाई विकास र समृद्धि नदिने दावी गरेका छन् । उनले वस्तुवादी योजना नभएको भन्दै १६ औं पञ्चबर्षिय योजनाको आलोचना समेत गरेका छन् ।

One thought on “अर्थमन्त्री पुनकै सामुन्ने अर्थविद वाग्लेले उठाए लघुबित्त कम्पनी खारेज गर्ने एजेण्डा

  1. Dipak Kumar Shrestha says:

    Barista Arthabid Rahe6 Garmin Arthtantra Bujheko Bank Haru le Bina Dhityo Loan Din6 Hola Ab sabiea Sahiu Mahajan Vyekoma better Byaz kattan Jane hola hain

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*