सांसद हरि ढकाल हराएको सूचना फेसबुकमा भाइरल, के भन्छन् ढकाल ?

दिपक विष्ट
२७ बैशाख २०८१, बिहीबार १७:३५

काठमाडौँ । २०७९ साल मङ्सिर ८ गते साँझ करिब ४ बजे चितवनको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएको खबर आयो । यो खबर पुँजी बजारका लगानीकर्ताहरू उत्साहित भए । उनीहरूले ढकाललाई आफ्नो लगानी सुरक्षाको मेरुदण्ड पाएको अनुभव गरेका थिए । तर, उनै हरि ढकाल हराएको र फेला पार्नु हुने महानभावहरुले साना लगानीकर्तालाई बुझाउनु हुन अनुरोध छ भन्ने सूचना भाइरल भइरहेको छ ।

वर्षौदेखि काँग्रेस र एमाले पकड क्षेत्र मानिएको चितवन १ मा ढकाल जित्न सजिलो थिएन् । उनलाई शेयर बजारका लगानीकर्ताले खुलेरै साथ दिएका थिए । सामाजिक सञ्जाल मात्र होइन लगानीकर्ता चितवन नै पुगेर ढकालको पक्षमा कडा मेहनत गरे । १५ वर्ष भन्दा बढी लामो समयसम्म पुँजी बजारका सङ्घ सङ्गठनमा सक्रिय ढकालले चुनाव जित्नुमा लगानीकर्ता योगदान रहेको तथ्य भुल्न सकिँदैन ।

लगानीकर्तालगायतको बलियो साथ पाएका ढकालले नेपाली काँग्रेसका विश्व पौडेल र नेकपा एमालेका सुरेन्द्र पाण्डेलाई पराजित गरे । ९६ हजार १०६ मत खसेको यस क्षेत्रबाट ढकालले ३४१८९ भोट ल्याएका छन् । नेकपा एमालेका पाण्डेले २६ हजार ६०८ र नेपाली काँग्रेसका पौडेलले २४ हजार ९९० मत प्राप्त गरेका थिए ।

शेयर बजारमा समस्या आउँदा ढकाल आमरण अनसनसमेत बस्ने गरेका थिए । अहिले शेयर बजार नीतिगत अवरोधको चेपुवामा परेको छ । अहिले पूर्व लगानीकर्ता ढकालको पार्टी समेत सरकार छ । कुनै समय सडकबाट सरकारविरुद्ध आन्दोलन गर्ने ढकाल अहिले मौन बसेको भन्दै लगानीकर्ता रुष्ट छन् । पछिल्लो समय लगानीकर्ताहरूले ढकाल बेपत्ता भएको भन्दै सामाजिक सञ्जाल (फेसबुक) मा टीकाटिप्पणी गरेका छन् । शेयर बजार सुधार गर्छु भनेर लागि परेका ढकालले चितवनबाट चुनाव जितेपछि लगानीकर्ता माझबाट बेपत्ता भएको लगानीकर्ता गुनासो रहेको छ । लगानीकर्ताहरूले अहिले सामाजिक सञ्जालमा ढकालको फोटोसहितको पोस्टर भाइरल भइरहेको छ । उक्त पोस्टरमा ढकाल बेपत्ता भएको भन्दै खोजी गर्ने लगानीकर्ता आग्रह गरी रहेका छन् ।

शेयर बजार सुधार गर्छु भनेर संसद् प्रवेश गरेका ढकालले लगानीकर्तालाई छड्के आँखाले समेत नहेर्ने गरेको एक लगानीकर्ताले बीमापोष्टलाई बताए । उनले भने, ‘ढकालले चुनाव जित्दा धेरै खुसी कोही थियो भने त्यो लगानीकर्ता हो । उनको आगमनले शेयर बजारका लगानीकर्ता आफ्नो आवाज समाधान गर्ने लिडर पाएको विश्वास गरेको थियो । तर, अहिले उनकै पार्टी सरकारमा हुँदा समेत लगानीकर्ता भएको ढकाल भएको अनुभव नै गरेको छैन ।’

ढकालको पार्टी सत्ता बाहिर हुँदा संसदमा बेला बेला आवाज उठे पनि सत्तामा जाँदा समन्वयकारी भूमिका खेल्न नसकेको उनको तर्क थियो । ‘रास्वपा सत्ता बाहिर हुँदा सांसद ढकालको आवाज संसदमा पुँजी बजारका लागि उठी रहेको थियो । तर सत्तामा गइसकेपछि जति भूमिका खेल्नु पर्ने हो त्यो खेलेको देखिँदैन ।’

यता, लगानीकर्ता दीपेन्द्र अग्रवाल भने ढकालले बजार चलायमान गर्न सक्दो पहल गरी रहेको बताए । ‘बजार माथि बढ्ने आस नै छैन । नीतिगत अवरोधको चुपुुवामा बजार परेको छ । ढकालको भूमिका उत्कृष्ट नै देखिन्छ । उनको पहल गर्दागर्दै पनि नीतिगत अवरोध सुधार हुन नसकेको छैन’ अग्रवालले भने ।

के भन्छन् ढकाल ?

पुँजी बजार सुधारका लागि नियामकसँग आफूले सक्ने समन्वय गरी रहेको सांसद हरि ढकालले बीमा पोष्टले बताए । आफू निर्वाचित भएदेखि नै बजार सुधारका लागि आफूले बेला बेला आवाज उठाइरहेको उनको तर्क थियो । उनले भने, ‘म निर्वाचित भएदेखि १०/११ चोटि संसदमा पुँजी बजार सुधारको मुद्दा उठाएको छु । गभर्नर महाप्रसाद अधिकारीसँग अघिल्लो मौद्रिक नीतिको समीक्षा हुनु भन्दा अघि बजारमा बाधा गर्ने नीतिगत अवरोध सुधारका लागि पहल गरी रहेका हुँ ।’

अर्थमन्त्री वर्षमान पुन नियुक्तभएपछि बजार सुधारका लागि १० बुँदे माग पेस गरेको ढकालले बताए । आफ्नो तर्फबाट बजार सुधारका लागि सक्ने सकारात्मक कदम चाली रहेको उनको तर्क थियो । ‘बजार सुधारका लागि हाम्रो पार्टीका नेता स्वर्णिम वाग्ले अर्थमन्त्री र गर्भनरसँग बेला बेला छलफल गरी रहेका छौ । नीतिगत तहबाट राष्ट्र बैङ्कले कसेर राखेका नीति फुकुवा गर्ने तिर लागि रहेका छौँ । अब आउने बजेट र मौद्रिक नीतिमा केही पक्का सुधार हुनेछ’ ढकालले भने ।

बजेटसम्मका लागि शेयर बजारमा लगानीकर्तालाई धैर्य गर्ने ढकालले आग्रह गरे । उनले भने, ‘आन्दोलन गरी रहेका व्यक्तिहरूलाई आन्दोलन नगर भन्न मिल्दैन । म पनि पुँजी बजार सुधार गर्न आन्दोलनबाट नै उदय भएको पात्र हुँ । तर, बजेटसम्मका लागि धैर्य गर्ने लगानीकर्ता आग्रह गरे ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*