मुद्दती निक्षेप खातालाई ‘एयरमार्क’ गर्न र फुकुवा गर्न प्राधिकरण धाउनुनपर्ने, अनलाइनबाटै आवेदन दिन सकिने

२८ बैशाख २०८१, शुक्रबार १०:३८

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ‘बीमकको मुद्दती निक्षेप लगानीको ‘एयरमार्क’सम्बन्धी मार्गदर्शन, २०८१’ जारी गरेको छ ।बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेप राख्दा खातालाई नियामक निकाय अर्थात् प्राधिकरणको नाममा ग्रहणाधिकार (एयरमार्क) गर्नुपर्नेछ । अहिले आएर त्यसका लागि पहिलो पटक छुट्टै मार्गदर्शन जारी गरिएको हो ।

यसअघि कागजीरुपमा (म्यान्युल्ली) एयरमार्क प्रक्रिया पूरा गर्नुपर्दथ्यो । सो पद्धतीलाई हटाउदै प्राधिकरणले नयाँ व्यवस्था ल्याएको हो । तर, अब बीमा कम्पनीहरुले अनलाइनबाटै यस्तो काम गर्नसक्ने प्राधिकरणले जानकारी दिएका छन् । यसको लागि आवश्यक अनलाइन प्रणालीको पनि विकास भईसकेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिएका छन् ।

उनले भने ‘एयरमार्कसम्बन्धी मार्गदर्शन नै ल्याएको यो पहिलो पटक हो । यद्यपि, बीमा कम्पनीहरुले मुद्दती निक्षेपमा लगानी गर्दा सम्बन्धित् खाता प्राधिकरणको नाममा एयरमार्क गर्नुपर्ने पूरानै व्यवस्था हो ।तर, पहिला म्यान्युल्ली यसको प्रक्रिया पूरा गर्नुपर्ने थियो । अब भने अनलाइनबाटै यसको सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिन्छ ।’

बीमा कम्पनीहरुले बैंकको मुद्दती निक्षेपमा पैसा राख्दा सम्बन्धित खातालाई प्राधिकरणको नाममा मुद्दती अवधीसम्म एयरमार्क गर्नुपर्छ ।त्यो अवस्थामा प्राधिकरणको पूर्वस्वीकृत बिना कम्पनीले पैसा झिक्न पाउने छैनन् । मुद्दती निक्षेपको अवधी सक्किएपछि प्राधिकरणले त्यसलाई फुकुवा गरिदिनेछ ।त्यसपछि कम्पनीले त्यो पैसा फिर्ता लिन सक्नेछ ।

सर्वसाधारणको पैसा जथाभावी रुपमा खर्च हुन नदिने उद्देश्यले पनि यस्तो व्यवस्था कायम राखिएको छ ।यसका लागि कम्पनीले मुद्दती निक्षेप खातालाई ‘एयरमार्क’ गर्न र फुकुवा गर्न प्राधिकरणमा निवेदन दिनुपर्नेछ जुन पहिला मान्युअल्ली हुन्थ्यो ।बीमा कम्पनीहरुले कागजपत्र बोकर प्राधिकरणको कार्यालयमै पुग्नुपर्ने थियो । तर, अब यससम्बन्धी सबै काम अनलाइन प्रणालीबाटै हुनेछ ।

यसका लागि सम्पूर्ण कम्पनीले एयरमार्क प्रणालीको विकास र प्रयोग गर्नुपर्ने मागदर्शनमा उल्लेख छ । एयरमार्क प्रणाली प्रयोग गर्न कम्पनीले आधिकारिक लगइन आइडीको प्रयोग गर्नुपर्नेछ । यसका लागि प्राधिकरणबाट सम्बन्धित कम्पनीको अधिकारीलाई प्रदान गरिएको आधिकारिक युजरनेम र पासवर्डको प्रयोग गर्नुपर्ने मार्गदर्शमा उल्लेख छ ।

प्राधिकरणले उपलब्ध गराएको युजरनेम र पासवर्डको सुरक्षाको जिम्मेवारी पनि प्रयोगकर्ता स्वयंमले लिनुपर्ने मागदर्शनमा उल्लेख छ । यद्यपि, कम्पनीले प्राधिकरणमा पठाएको एयरमार्क सम्बन्धी विवरणको प्रतिलिपि सुरक्षित रूपमा अभिलेख राख्नु पर्ने मार्गदर्शनमा उल्लेख छ ।

यस्का प्रक्रियाहरु

कम्पनीले सम्बन्धित खाता एयरमार्क गर्न अनलाइनबाटै प्राधिकरणमा ‘ब्लक रिक्वेष्ट’ पठाउनुपर्नेछ । त्यसका लागि मुद्दती निक्षेपको नम्बर, मुद्दती निक्षेप सुरु भएको र परिपक्क हुने मिति पनि प्रमाणीकरण गर्ने गरि निवेदन दिुनपर्नेछ । निवेदनमा मुद्दती निक्षेपको रसिद र रकम (सीमाभित्र रहेको हुनुपर्ने)को जानकारी समेत समावेश गर्नुपर्ने मागदर्शनमा उल्लेख छ ।

मुद्दती निक्षेपको खाता खोलिएको वा लगानी गरेको ७ कार्य दिनभित्र एयरमार्क प्रणालीबाट ब्लक रिक्वेष्ट पेश गर्नुपर्नेछ । त्यस अवधिपछि पेश गरेको ब्लक रिक्वेष्टलाई स्वीकार नगरिने मार्गदर्शनमा उल्लेख छ । कम्पनीबाट ब्लक रिक्वेष्ट प्राप्त भएपछि प्राधिकरणले संलग्न कागजातहरूको आधारमा एयरमार्क प्रणालीबाटै स्वीकृत गर्नेछ ।

त्यसपछि कार्यान्वयनका लागि एयरमार्क प्रणाली मार्फत सम्बन्धित बैंक तथा वित्तीय संस्थामा पठाउनेछ । त्यसपछि यो कार्यान्वयनमा जानेछ ।

एयरमार्क गरिएको मुद्दती निक्षेप परिपक्क भएपछि रकम झिक्न प्राधिकरणबाटै फुकुवा गनुपर्छ । त्यसका लागि कम्पनीले सोही प्रणालीमार्फत प्राधिकरणमा अनब्लक रिक्वेष्ट पठाउनुपर्छ ।

मुद्दती निक्षेप परिपक्व हुनु भन्दा सात कार्य दिन अघि नै कम्पनीले यस्तो प्रस्ताव प्राधिकरणमा पठाउनुपर्नेछ । त्यसपछि प्राधिकरणले आवश्यक कागजपत्र हेरेर अनलाइनबाटै त्यो स्वीकृत गर्नेछ । त्यसपछि एयरमार्क प्रणालीबाटै बैंकलाई पैसा फुकुवा गर्न सिफारिसर्नेछ । त्यसपछि बीमा कम्पनीले मुद्दती निक्षेपको पैसा झिक्न पाउने छन् ।

के गर्नुपर्छ बैंक तथा वित्तीय संस्थाले ?
मार्गदर्शनअनुसार यसका लागि बैंक तथा वित्तीय संस्थाले पनि एयरमार्क प्रणाली प्रयोग गर्नुपर्नेछ । बीमा कम्पनी र प्राधिकरणबाट प्रमाणित गरिएका मुद्दती निक्षेपहरू ब्लक र अनब्लक गर्न बैंकहरुले एयरमार्क प्रणालीको प्रयोग गर्नुपर्ने मागदर्शनमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो कोर बैंकिङ प्रणालीबाटै बीमा कम्पनीले मुद्दती निक्षेपमा गरेको लगानीलाई प्राधिकरणको नाममा एयरमार्क गर्नुपर्ने बताइएको छ । ब्लक रिक्वेष्टको स्वीकृति जानकारी आएपछि बैंकले यथाशीघ्र मुद्दती निक्षेपलाई प्राधिकरणको नाममा एयरमार्क गर्नु पर्नेछ । प्राधिकरणबाट अनब्लक रिक्वेष्टको प्रमाणीकरण भएपछि बैंकले उक्त मुद्दती निक्षेप फुकुवा गर्न सक्नेछन् ।

earmark insurance

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*