नेपाल बीमा प्राधिकरणमा डेपुटी कार्यकारी निर्देशक राख्ने तयारी, कर्मचारीहरु विरोधमा

२८ बैशाख २०८१, शुक्रबार १२:०७

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा डेपुटी कार्यकारी निर्देशक राख्ने तयारी सुरु भएको छ । नेपाल बीमा प्राधिकरणमा २०७८ सालमा सम्पन्न भएको ओएनएम सर्भे पुनः सुरु भएको छ । सो सर्भेमार्फत हाल निर्देशक पदमा रहेका कर्मचारीहरु बढुवा हुँदा समेत सेवा अवधी थप गर्न डेपुटी कार्यकारी निर्देशक पद राख्न खोजिएको हो ।

नेपालका अन्य कुनै पनि नियामक निकायमा डेपुटी कार्यकारी निर्देशक पद छैन । तर, नियामक नेपाल बीमा प्राधिकरणमा भने पहिलो पटक डेपुटी डाइरेक्टर पद थप गर्न खोजिएको छ । त्यसको लागि आज प्राधिकरणका चार जना निर्देशकहरु जावलाखेलस्थित कर्मचारी प्रशिक्षण प्रतिष्ठानमा पुगेर छलफलमा सहभागी भइरहेका छन् ।

हाल कर्मचारी प्रशिक्षण प्रतिष्ठानले सर्भेको काम गरिरहेको छ । सो क्रममा डेपुटी डाइरेक्टर पद थप गर्न लागिएको हो । नेपाल बीमा प्राधिकरणको संरचना अनुसार हाल कार्यकारी निर्देशक, निर्देशक पद रहेका छन् । हाल जारी ओएनएम सर्भे सम्पन्न भई कार्यान्वयनमा आएको खण्डमा डेपुटी कार्यकारी निर्देशक समेत थप हुनेछन् । तर, उक्त व्यवस्था लागू हुन भने निकै कठिन रहेको छ । बीमा प्राधिकरणका कर्मचारीहरुले उक्त व्यवस्था लागू गर्न खोजिए चर्को विरोध गर्न जनाएका छन् ।

कर्मचारी प्रशिक्षण प्रतिष्ठानले पाँच वर्षका लागि २०७८ सालमा गराइएको ओएनएम सर्भे दुई वर्षपछि पुनः गराउन बीमा प्राधिकरण र अर्थमन्त्रालयबाटै स्वीकृति लिइएको छ । यसअघिका अर्थमन्त्रीको पालामा स्वीकृति लिइएको ओएनएम सर्भेमा प्राधिकरणका केही उच्च तहका कर्मचारीहरुका लागि डेपुटी कार्यकारी निर्देशक पद सिर्जना गर्न सेटिङ हानेको चर्चा प्राधिकरणमा छ ।

बीमा प्राधिकरणमा बीमा क्षेत्रमा लामो भिजन बनाउने सक्ने दक्ष कर्मचारीको अभाव रहँदै आएको छ । जसका कारण बीमा क्षेत्रको नियामकबाट महिनैपिच्छे बिना आधार, कारण र औचित्य बिना नै नीतिहरु फेरिँदै आएका छन् । सुशासनको पक्षमा दृढ र दक्ष जनशक्तिको अभाव झेलिरहेको प्राधिकरणमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुको साटो थप पद सिर्जना गरेर पुरानैलाई अड्काएर नेतृत्व विकासमा रोक्ने प्रयास गरिएको आरोप कर्मचारीहरुको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*