बैंकहरुलाई पुँजीकोष पुर्‍याउन अग्राधिकार सेयर जारी गर्न अनुमति दिने तयारी

७ जेष्ठ २०८१, सोमबार १४:५८

काठमाडौं । पुँजीकोषको दबाबमा रहेका बैंक वित्तीय संस्थाहरूलाई सहजीकरण गर्ने नीति राष्ट्र बैंकले लिएको छ। खराब कर्जा बढेकाले समस्यामा परेका र पुँजी कम भएर पुँजीकोषको दबाबमा परेका बैंक वित्तीय संस्थाको समस्या समाधान गर्न भन्दै राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत नीतिगत व्यवस्था गरेको छ।

अतिरिक्त उपकरणका रुपमा विशेषगरी राष्ट्र बैंकले अग्राधिकार सेयर र हकप्रद सेयर जारी गर्न दिने तयारी अगाडि बढाउने सम्भावना छ।बैंक वित्तीय संस्थाहरूको पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरू प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गरिनेछु, मौद्रिक नीति तेस्रो समीक्षाको बुँदा नम्बर ३८ मा भनिएको छ।

अग्राधिकार सेयर जारी गर्न दिने सम्बन्धमा राष्ट्र बैंक तयार देखिन्छ। नबिल बैंकले यसअघि नै पुँजी वृद्धिका लागि ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने तयारी गरेको छ। अग्राधिकार सेयर जारीगरी पुँजी वृद्धिका सम्बन्धमा नबिल बैंकले अगाडि बढाएको फाइल राष्ट्र बैंकमा गएर रोकिएको छ।

राष्ट्र बैंकले यही साता जारी गर्न लागेको सर्कुलरले पुँजी वृद्धिका लागि अग्राधिकार सेयरको अनुमति दिनासाथ नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्कासन गर्न अनुमति पाउन सक्छ। अग्राधिकार सेयरका लगानीकर्ताहरूलाई साधारण तथा संस्थागत लगानीकर्तालाई भन्दा लाभांशमा पहिलो प्राथमिकता दिइन्छ। अग्राधिकार सेयर लगानीकर्तालाई तोकिएको दरमा प्रतिफल वितरण गरिसकेपछि मात्रै बैंकका वास्तविक लगानीकर्ताले लाभांश प्राप्त गर्छन्।

नाफा भएको वर्षहरूमा ८ प्रतिशत लाभांश दिनेगरी पुँजी फिर्ता नहुने सर्तमा अग्राधिकार सेयर जारी गर्न लागेको छ। अग्राधिकार जारी गर्ने सम्बन्धमा राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत थप स्पष्ट पार्ने राष्ट्र बैंक स्रोत बताउँछ।

बैंक वित्तीय संस्थाहरूको पुँजीकोषको समस्या हल गर्न राष्ट्र बैंकले टायरवान क्यापिटलका विभिन्न उपकरणहरू प्रयोग गर्न दिने सम्बन्धमा लचक बनेको छ। मौद्रिक नीतिको समीक्षा राष्ट्र बैंकले पुँजी वृद्धिका अतिरिक्त उपकरण प्रयोग गर्न दिने सम्बन्धमा व्यवस्था गरिसकेको छ। यसमा कस्ता उपकरण प्रयोग गर्ने सम्बन्धमा राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत थप प्रष्ट पार्नेछ।खासगरी राष्ट्र बैंकको एकीकृत निर्देशनमै रहेको अग्राधिकार सेयर जारी गर्ने सम्बन्धमा राष्ट्र बैंक सकारात्मक छु, स्रोतले भन्यो।

अग्राधिकार सेयरसँगै हकप्रद सेयर जारी गर्न दिने सम्बन्धमा समेत राष्ट्र बैंक सकारात्मक देखिन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*