नेपाल सोलार फार्मले १२ करोडको आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

७ जेष्ठ २०८१, सोमबार १८:३७

काठमाडौँ । नेपाल सोलार फार्म लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १२ लाख कित्ता बराबरको १२ करोढको आइपीओ निष्कासन गर्ने लागेको हो ।

आइपीओ निष्कासनका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटल बीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सोमबारका दिन ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय नक्साल, काठमाण्डौंमा आयोजित एक विशेष कार्यक्रममा नेपाल सोलार फार्म लिमिटेडको तर्फबाट सञ्चालक जितेन्द्र भट्टराई र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

वि.सं. २०७४ सालमा प्रा.लि. को रुपमा दर्ता भई वि.संं.२०८० सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको नेपाल सोलार फार्म लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बाफल, काठमाण्डौंमा रहेको छ । अधिकृत पूँजी ३० करोड रुपैयाँ र जारी पूँजी २५ करोड रुपैयाँ रहेको यस कम्पनीको सोलार फार्मको आयोजना कास्की जिल्ला, रुपाकोट गाउँपालिकाको वडा नं.६, सिम्लेमा रहेको छ । कम्पनी अन्तर्गत निर्माण सम्पन्न भएको आयोजना सोम राधाकृष्ण सोलर फार्मबाट मिति २०७९/०७/१४ देखि ४ मे. वा. क्षमताको विद्युतशक्तिको व्यापारिक उत्पादन शुरु भई राष्ट्रिय प्रसारण लाइनमा जोडिईसकेकोछ । भविष्यमा थप सौर्य उर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्य रहेको यस कम्पनीमा सोलार लगायत अन्य विभिन्न उर्जा तथा विकास निर्माण क्षेत्रसँग सम्बन्धित प्रतिष्ठित व्यक्तिहरुको लगानी रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*