३० बर्ष सेवा गरेर अवकाश पाए बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले, नयाँ प्रमुखको खोजी

११ जेष्ठ २०८१, शुक्रबार २१:२०

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलको सेवा निवृत्त भएको छ । उमेर हदका कारण कार्यकारी निर्देशक राजुरमण पौडेलको भोलिदेखि सेवा निवृत्त हुन लागेका हुन् ।पौडेल हाल बीमा प्राधिकरणका्े अध्यक्षपछि दोश्रो वरियतामा कार्यरत छन् ।

२०५१ सालमा तत्कालिन बीमा समितिको काठमाडौं भुकुटीमण्डपमा कार्यालय हुँदा लेखा अधिकृतको जागिरवाट सेवा सुरु गरेको कार्यकारी निर्देशकसम्मको जिम्मेवारी निर्वाह गरेर पौडेलले ३० बर्ष बिताईसकेका छन् । आगामी दिनमा बीमा क्षेत्रमै केही गर्ने सोच लिएर पुन फर्कन सक्ने पौडेल बताँउछन् ।

प्राधिकरणमा कार्यकारी माताहतको निर्देशकमा चार जना रहने व्यवस्था छ।तीनै चार जनाबाट एक जना कार्यकारीमा नियुक्त हुने हो। तर, कार्यकारीमा नियुक्त हुनको लागि कम्तिमा पनि निर्देशक पदमा पाँच वर्ष काम गरिसकेको हुनुपर्छ। तर, महिला र समावेशिको हकमा भने चार वर्ष निर्देशक भएको व्यक्ति कार्यकारी निर्देशकमा नियुक्त हुन योग्य हुन्छ।

प्राधिकरणमा हालका चार जना निर्देशक मध्ये तीन जना निर्देशक कार्यकारीका लागि योग्य छन् भने एक जनाको अवधि केहि कम छ। निर्देशक कमल प्रसाद रेग्मी, पुजन ढुङ्गेल अधिकारी र निर्देशक दिनेश कुमार लाल कार्यकारीका लागि योग्य छन्।

रेग्मी निर्देशक बनेको आठ वर्ष पुरा भइसकेको छ भने पुजन र लाल भने निर्देशक बनेको चार वर्ष पुरा भइसकेको छ । पुजन महिला र लाल मधेशी समुदायबाट प्रतिनिधि गर्ने भएकाले उनीहरु चार वर्ष निर्देशक भएकै आधारमा कार्यकारीका लागि योग्य देखिएका हुन्।

निर्देशक शुसिलदेव सुवेदी कार्यकारीमा नियुक्त हुनका लागि हाललाई अयोग्य देखिएका छन्। उनी निर्देशकमा बढुवा भएको पाँच वर्ष पुगेको छैन। आगामी साउनमा मात्र उनी निर्देशक बनेको पाँच वर्ष पुग्ने देखिन्छ। त्यसो हुँदा उनी कार्यकारी बन्नका लागि कि त कार्यकारी नियुक्ती प्रक्रिया साउनसम्म लम्ब्याउनु पर्ने हुन्छ या अर्को चार वर्ष कुर्नु पर्ने हुन्छ ।

कर्मचारी सेवा शर्त विनियमावली अनुसार वरिष्ठताका आधारमा कार्यकारी निर्देशक नियुक्त गर्ने प्रावधान भएकाले रेग्मी नै अबको कार्यकारी निर्देशक हुने सम्भावना बढी छ।

बीमा प्राधिकरणमा अध्यक्षपछि कार्यकारी निर्देशलाई शक्तिशाली मानिन्छ । कार्यकारी निर्देशक नै बीमा प्राधिकरणमा कर्मचारी तर्फको उपल्लो पद हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*