कोरोना बीमाको रकम बीमा कम्पनीबाटै भुक्तानी गराउन महालेखाको निर्देशन, १४ बीमा कम्पनीमाथि थपियो १० अर्ब दायित्व

१३ जेष्ठ २०८१, आईतवार २०:०३

काठमाडौं । कोरोना बीमाको बक्यौता रकम बीमा पोलिसी जारी गर्ने सम्बन्धित बीमा कम्पनीहरुबाटै असुल उपर गर्नुपर्ने महालेखा परिक्षकको कार्यालयले निष्कर्ष निकालेको छ । आज सार्वजनिक बार्षिक प्रतिवेदनमा बीमा कम्पनीहरुले बीमा शुल्क लिई बीमा पोलिसी जारी गरेको अवस्थामा कोरोना बीमा बापतको असिमित दायित्व नेपाल सरकारले व्यहोर्न नसक्ने उल्लेख गर्दै कोरोना बीमाको बक्यौता रकम छानविन गरी बीमा कम्पनीबाट दावी भुक्तानी गराउन सरकारलाई निर्देशन दिएको छ ।

महालेखाले कोरोना बीमाको बक्यौता बापतको रकम ११ अर्ब ३४ करोड २५ लाख (बीमा प्राधिकरणको तथ्याङ्कभन्दा केही फरक रहेको) रकम सम्बन्धित बीमा कम्पनीबाटै तिराउनुपर्ने उल्लेख छ । गत वर्ष सरकारले तिरेको एक अर्ब रुपैयाँ समेत बेरुजुमा राखेको महालेखाले कोरोना बीमा बापतको रकम नेपाल सरकारले व्यहोर्न नसक्ने स्पष्ट उल्लेख छ ।

महालेखाको आज सार्वजनिक प्रतिवेदन अनुसार कोरोना बीमाको सबै दायित्व अब बीमा कम्पनीहरुको काँधमा आइपुगेको छ । सो रकम बीमा प्राधिकरणले कति दिनभित्र भुक्तानी गराउँछ त्यो भने हेर्न बाँकी नै छ ।

उता, नेपाल बीमक संघका प्रबक्ता अशोक खड्काले कोरोना बीमाको रकम आफूहरुले नतिर्ने र महालेखाले त्यस्तो निर्णय गरेमा अदालतमा मुद्दा हाल्ने बताएका छन् । बीमापोष्टलाई संक्षिप्त प्रतिक्रिया दिँदै महासचिव खड्काले कोरोना बीमाको रकम सरकारले नै तिर्नुपर्ने जिकिर गरेका छन् ।

यद्यपि नेपालको प्रचलित बजेटरी सिष्टम अनुसार कुनै पनि सचिव मन्त्री वा प्रधानमन्त्रीले पत्र दिएकै आधारमा बजेटमा व्यवस्था भएकोमा बाहेकको दायित्व नेपाल सरकारले व्यहोर्ने व्यवस्था छैन ।

महालेखाको यस्तो निर्देशनसँगै नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीको टाउकोमा पौने १० अर्ब दायित्व थप भएको छ । पछिल्लो अद्यावधिक तथ्याङ्क अनुसार करिब १० अर्ब रुपैयाँ कोरोना बीमाको दावी भुक्तानी बक्यौता रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*