बैंक र इसेवाले चलाएको बीमा अभियानबारे महालेखाको प्रश्न, के गर्ला बीमा प्राधिकरण ?

१४ जेष्ठ २०८१, सोमबार १७:०९

काठमाडौं । बीमा ऐन र नेपाल बीमा प्राधिकरणलाई खुलेआम चुनौति दिँदै इसेवा तथा केही बैंकले समेत बीमा अभियान चलाइरहेका छन् । बीमा ऐनमा बीमा सेवा प्रवाह गर्न बीमा प्राधिकरणबाट लाइसेन्स लिएको हुनुपर्ने तथा अनुमति लिएको हुनुपर्ने व्यवस्था छ ।

इसेवा तथा केही बैंकहरुले विभिन्न बीमा कम्पनीसँगको सहकार्यको नाममा गैर कानुनी रुपमा बीमा सेवा सञ्चालन गर्दै आएकोमा नीतिगत व्यवस्था विपरितको कार्य भइरहेको महालेखा परिक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । महालेखाका अनुसार बीमा सेवा बीमा कम्पनीहरुबाट मात्रै प्रवाह गर्नुपर्नेमा अन्य बैंक तथा वालेट इसेवा वा अन्य यस्तै कम्पनीबाट बीमा सेवा प्रवाह गर्नु बीमाको सिद्धान्त र नीति तथा प्रचलित कानुन विपरितको कार्य भएको महालेखाको ठम्याई छ ।

महालेखाले यी र यस्तै अनैतिक कार्यहरु रोक्न नसकेकोले बीमा प्राधिकरणमा दक्ष जनशक्तिको अभाव खड्किएको समेत प्रतिवेदनमा उल्लेख गरिसकेको छ । कोर बैंकिङ सेवाको लागि नेपाल राष्ट्र बैंकबाट अनुमति लिने अनि बीमा कम्पनीसँग मिलेर बीमा कम्पनीको सेवा समेत बैंकबाट प्रवाह गर्ने जस्ता गैर कानुनी कार्यहरु समेत भइरहेका छन् । उता, इसेवा नामक वालेट कम्पनीले समेत गैर कानुनी रुपमा बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । इसेवाले मोबाइल एपबाटै बीमा गर्ने भन्दै सर्वसाधारणबाट करोडौं रुपैयाँ उठाइरहेको छ । त्यसतर्फ बीमा प्राधिकरणले ध्यान दिन सकिरहेको थिएन । महालेखाले नै प्रश्न उठाएपछि अब बीमा प्राधिकरणले के गर्ला ? प्रतिक्षाको विषय बनेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*