१० वर्षपछि नेपाल टी–२० विश्वकपमा, आज नेदरल्यान्ड्ससँग खेल्दै

२२ जेष्ठ २०८१, मंगलवार ११:४४

काठमाडौँ । टी–२० विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । यो खेल डालासको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा नेपाली समयअनुसार राति सवा नौ बजे शुरु हुनेछ ।

नेपाल दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेको हो । यसअघि सन् २०१४ मा नेपालले बङ्ग्लादेशमा भएको टी –२० विश्वकप खेलेको थियो । अहिले १० वर्षपछि विश्वकप खेल्न लागेको हो । यो विश्वकपमा नेपालका कप्तान रोहित पौडेल कान्छा कप्तान हुन् । आज पहिलो खेलमा कप्तानी गर्दा उनको उमेर २१ वर्ष ९ महिना २ दिनको हुनेछ ।

नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलङ्का, नेदरल्यान्डस् र बङग्लादेश रहेका छन् । यो विश्वकपमा नेपाल, आयोजक अमेरिका र वेस्ट इन्डिजसहित २० देश सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा पाँच टोली छन् । टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख अर्थात् असारको १५ गते हुनेछ ।

काठमाडौँ महानगरपालिकाले ‘टी टवान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रसारणको तयारी गरेको छ । महानगरपालिका र ओपन डोर्स इन्टरटेन्मेन्टको संयुक्त पहल र खेलकुद मन्त्रालयको सहयोगमा आज राति हुने नेपाल र नेदरल्याण्डस्को खेल ठूलो एलईडी स्क्रिनमा निःशुल्क देखाउन लागिएको हो ।

यसैबीच, खेल शुरु हुनुअघि टुँडिखेलमा इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाललगायतका कलाकारले साङ्गीतिक प्रस्तुति समेत दिने महानगरले जनाएको छ । यसका लागि बेलुका ५ बजेदेखि टुँडिखेलमा छिर्न पाईने व्यवस्था छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*