सिधा कुराबाट प्रसारण भएको सर्वोच्च अदालतको फैसलासम्बन्धी अडियो रेकर्डलाई ‘झुटो र बनिबनाउ’ भन्ने निष्कर्ष

२२ जेष्ठ २०८१, मंगलवार १५:०५

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सिधा कुराबाट प्रसारण भएको सर्वोच्च अदालतको फैसलासम्बन्धी अडियो रेकर्डलाई ‘झुटो र बनिबनाउ’ भन्ने निष्कर्ष निकालेको छ ।

सर्वोच्च अदालतको आदेशपछि सीआईबीले डीआईजी नविन्द अर्यालको नेतृत्वमा ६ सदस्यीय अनुसन्धान टोली गठन गरेको थियो । टोलीले दुई साता लगाएर गरेको अनुसन्धानले अडियोमा उल्लेख गरिएको विवरण यथार्थ नरहेको निष्कर्ष निकालेको हो ।

सीआईबीले उक्त अडियो युट्युबमा प्रसारण गरेका कारण तीन कानुन आकर्षित हुने निष्कर्ष निकालेको छ । उसले विद्युतीय कारोबार ऐन २०६३ को कम्प्युटरसम्बन्धी कसुर, मुलुकी अपराध संहिताको न्यायविरुद्ध कसुर आकर्षित हुने भनेको छ ।

सीआईबीले मुलुकी अपराध संहिता ऐनकै भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसुर अमानवीय व्यवहारसम्बन्धी कसुर पनि आकर्षित हुने निष्कर्ष निकालेको हो । सीआईबीको उक्त प्रतिवेदन सर्वोच्च अदालतमा पेस भइसकेको छ ।

सिधा कुरा अनलाइनले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन एक मुद्दा प्रभावित पार्न न्यायाधीश, मिडिया सञ्चालक र कानुन व्यवसायीहरूले भेटघाट गरेको दाबी गरिएको अडियो सार्वजनिक गरेको थियो ।

अदालतको अवहेलनासम्बन्धी कारबाही अघि बढेपछि गोदावरीका राजकुमार तिमिल्सिनाले तीन वर्षअघि आफूले अडियो रेकर्ड गरेको र त्यही अडियो उक्त अनलाइनका सञ्चालक एवं संवाददाताहरूलाई पठाएको दाबी गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*