भारतीय निर्वाचनः एनडिए गठबन्धनलाई बहुमत सिट, तेस्रो पटक सरकार बनाउने मोदीको दाबी

२३ जेष्ठ २०८१, बुधबार ११:३१

काठमाडौँ । भारतमा लोकसभामा भएको सात चरणमा सम्पन्न निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भएको छ । ५ सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले २ सय ४२ सिटमा जित हासिल गरेको हो ।

भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडिएलाई बहुमत प्राप्त भएको छ । यो गठबन्धनले २ सय ९४ सिट जितेको भारतको निर्वाचन आयोगले जनाएको छ । भाजपाका एक उम्मेदवार भने यस अघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।

त्यसैगरी एनडिएको विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले २ सय ३३ सिटमा जित हासिल गरेको छ । काङ्ग्रेस एक्लैले भने ९८ सिटमा जित हासिल गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक वनारसबाट निर्वाचित भएका छन् भने कांग्रेस नेता राहुल गान्धीले राय–बरेली र वायनाडबाट जित हासिल गरेका हुन् ।

उत्तर प्रदेशमा भने भाजपालाई ठूलो धक्का लागेको छ । उसले अघिल्लो चुनावमा ६४ सिट जितेको सो क्षेत्र यसपटक भने ३३ सिटमा समेटिएको छ । समाजवादी पार्टीले यहाँ ३७ सिट प्राप्त गरेको छ । सात चरणमा सम्पन्न लोकसभा निर्वाचनमा करिब ६४ करोड २० लाख जनताले मतदान गरेका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा नेतृत्वको एनडीएले लगातार तेस्रो पटक सरकार बनाउने बताएका छन् । मोदीले सन् १९६२ पछि पहिलो पटक दुई कार्यकाल पूरा गर्ने सरकारले लगातार तेस्रो कार्यकाल पाएको छ दशकपछि ‘नयाँ इतिहास’ रचिएको धारणा राखेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*