देशको अर्थतन्त्र माफियाको हातमा, आय कर ऐनको दफा ११ बाट कर छुट लिने व्यापारीमाथि छानबिन गरौंः सांसद कार्चेन

२३ जेष्ठ २०८१, बुधबार १३:३९

काठमाडौँ । सांसद छिरिङ डम्डुल लामा (कार्चेन) राज्यकोष रित्तो बनाएर व्यापारीको पोल्टो भर्ने राजश्व प्रणाली सुधार गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभामा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सहभागि हुँदै उनले यस्तो बताएका हुन् ।

‘आय कर ऐनको दफा ११ अनुसार ठूला व्यापारी कसैले पनि कर तिर्नुपर्दैन । राज्यकोष रित्तो बनाएर व्यापारीको पोल्टो भर्ने राजश्व प्रणाली सुधार गर्नैपर्दछ । आजसम्म राजश्व छुट लिने व्यापारीहरुमाथि छानविन गरौं’ सांसद कार्चेनले भने, ‘राजश्व छुट कस–कसले पाएको छ ? हामीले हिम्मत गरौं, राजश्व छुट लिएर राज्यको दोहन गर्नेहरुको संसदीय समिति बनाएर छानविन गरी कर असुल गर्ने हो भने एक वर्षमै हुम्लामा रेल पुर्याउने पैसा आउँछ ।’

अहिले देशको अर्थतन्त्र माफियाहरुको हातमा गइसकेको उनले आरोप लगाए । उनले भने, ‘बजेट १८ खर्ब ६० अर्बको, जनताले पाउने विकास जम्मा ३ खर्बको । चालु आवको हिजोसम्म उठेको जम्मा राजश्व ८ खर्ब ७९ अर्ब मात्रै छ । यो देशको राजश्व जम्मा यति मात्रै हो त ? अरु राजश्व खोई ? कसले खायो ? पैसा कता जान्छ ?’

बजेटले सामाजिक न्याय, सुशासन र समृद्धिको मर्मलाई पकडेको कार्चेनले बताए । ‘अप्ठेरो अवस्थाका बीचमा अर्थतन्त्र सुधार गर्न पाँच आधार प्रस्तुत गरिएकोछ । अर्थतन्त्र सुधारको लागि सरकारले बजेटमा पाँच उद्देश्य, पाँच प्राथमिकता र पाँच आर्थिक सुधारका रणनीति घोषणा गरेको छ, जुन स्वागत योग्य छ । पाँच पान्तरणकारी क्षेत्रको रुपमा कृषि, उर्जा, सूचना प्रविधि, पर्यटन र उद्यमशितालाई उल्लेख गर्नु एकदमै सकारात्मक पक्ष रहेको छ’ उनले भने ।

अघिल्लो आवमै कर्णाली प्रदेशमा सञ्चालन गर्ने भनिएको हवाई एम्बुलेन्स सेवा तत्काल सञ्चालन गर्न उनले माग गरे । हिमाली क्षेत्रान पाँच अर्बको हिमाली कृषि कम्पनी र पाँच अर्बको जडिबुटी कम्पनी स्थापना गरी कृषि र जडिबुटी प्रबर्द्धन गरी समृद्धिको योजना सञ्चालन हुन पर्ने उनको माग थियो । साथै हुम्लाको लिमि भ्यालीलाई पर्यटन पूर्वाधार विकास गर्न र मानसरोवर कैलाश दर्शनको लागि पोडवेको सम्भाव्यता अध्ययनका लागि माग सांसद कार्चेनले राखे ।

‘हुम्लाको हल्जी गुम्बा, रलिङ गुम्बा र बैफक गुम्बा विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने पहल गरियोस् । चालु आवको बजेटमा र प्रधानमन्त्री प्रचण्डले पनि पटक पटक यसै आवमा सिमकोटमा गाडी पुग्नेछ भनेर भाषण गर्नु भएको छ । अझै पुगेको छैन । १ महिना ७ दिन बाँकी छ । पुग्छ कि पुग्दैन ध्यान दिनुपर्नेछ’ कार्चेनले भने ।

अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नु भएको बजेट सन्तुलित, समय सापेक्ष, गतिशिल, समाजवाद उन्मुख रहेको उनले बताए । उनले भने, बजेट बक्तव्य र आर्थिक विधेयकमाथिको छलफलमा भाग लिंदै गर्दा मैले संसदमा रमाइलो दृष्य हेरे । सत्ता पक्षबाटै असन्तुष्टि, विरोध र आक्रोस पनि देंखे । कसैलाई स्टक एक्सचेन्जको लाइसेन्स चाहिएको होला । कसैलाई राजश्व छुट चाहिएको होला । कसैलाई स्पन्ज आइरनमा कर बढि भएको होला । तर, म भन्छु बजेट सत्ता गठबन्धनको साझा दस्तावेज हो । बजेटको आलोचना गर्नुपूर्व बजेटको सीमा, नेपालको अर्थव्यवस्था अध्ययन गर्न आग्रह गर्दछु । म अर्थतन्त्रको ज्ञाता त होइन । तर अर्थमन्त्रीले देशको स्रोत, साधन, अहिलेको आर्थिक अवस्था अनुसार वस्तुवादी बजेट प्रस्तुत गर्नुभएकोले उत्कृष्ट मूल्याङ्कन गर्न चाहन्छु।’

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*