एनआईसी एशिया बैंकद्वारा ८ हजार ग्राहकले पाए १६ करोड रुपैयाँ बराबरको बीमा दावी 

‘बीमा दावी भुक्तानीलाई थप सहज बनाउने प्रतिवद्धता’
राजन कठायत
२५ जेष्ठ २०८१, शुक्रबार १६:१८

काठमाडौं । एनआईसी एशिया बैंकका ७ हजार ९ सय ९० जना ग्राहकले २०८१ जेठ मसान्तसम्ममा १६ करोड १० लाख रुपैयाँबराबरको बीमा दाबी भुक्तानी पाएका छन् ।  बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकहरूलाई सो खातामा उपलब्ध गराइएको सेवा र सुविधाअनुसार उक्त संख्याका ग्राहकहरूले १६ करोड १० लाख रुपैयाँबराबरको बीमा दाबी भुक्तानी पाएका हुन् ।

पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा पनि प्रतिस्पर्धा छ । कसले बढी सेवा सुविधा दिने भन्ने प्रतिस्पर्धामा एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकका लागि ८४ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराउने गरी ग्राहकहरू लाभान्वित हुने योजना ल्याएको छ । यस्तो खाता खोलेर  हालसम्म हजारौँ ग्राहकले फाइदा लिइसकेका छन् ।

बीमा रकम प्राप्त गर्ने कुल ७ हजार ९ सय ९० जनामध्ये घातक रोग बीमाबापत ३८ जनाले ४ करोड रुपैयाँ, दुर्घटना बीमाबापत २९ जनाले २ करोड ९० लाख रुपैयाँ र मेडिकल बीमाबापत ७ हजार ९ सय २३ जनाले ९ करोड १० लाख रुपैयाँभन्दा बढी रकम ग्राहकलाई हस्तान्तरण गरिसकेको छ ।

बैंकका फाइनान्स हेड रुपेश लुईटेलले ग्राहकहरुलाई बीमा दावी भुक्तानी सहज र सरल बनाएको कारण हजारौं ग्राहकले लाभ उठाउँदैं आएको बताए । साथै, उनले ग्राहकहरुलाई आवश्यक प्रक्रिया पुरा गरी बीमा दावी माग गर्दा २४ घण्टाभित्रै दावी भुक्तानी गरिने समेत बताएका हुन् ।

बचत खातामा राखेको रकमबाट ब्याज पनि प्राप्त हुने र स्वास्थ्य उपचार गर्न वा भइपरी आउने घटनामा आर्थिक सहयोग हुने भए पछि ग्राहकहरू धेरै लाभान्वित भएका छन् ।

यो सुविधा लिन ग्राहकले यस बैंकको सर्वश्रेष्ठ बचत खाता खोल्नुपर्छ । एक जनाले १ लाख रुपैयाँ ब्यालेन्स राखेर सर्वश्रेष्ठ बचत खाता खोलेपछि उक्त खातावालाले चाहेका अन्य तीन जनालाई यो सुविधा पाउने गरी सिफारिस गर्न सक्छन् । यसरी जोडिएका ३ जनाले सर्वश्रेष्ठ बन्डल सहज बचत खाता खोल्नुपर्छ र यो खाता शून्य ब्यालेन्समै खोल्न सकिन्छ । यसरी चार जनाले प्रति व्यक्ति २१ लाख रुपैयाँको बीमा सुविधा उपभोग गर्न सक्छन् ।

४ जनालाई ८४ लाख रुपैयाँसम्मको बीमा सुविधामा ३ बीमा ९१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा उपलब्ध भएको बैंकले जनाएको छ । पाँच वर्षसम्मका लागि उपलब्ध गराइएको यो सुविधासँगै सर्वाधिक उच्च ब्याजदर, ५ वर्षसम्म ८४ लाखसम्मको ४० लाख रुपैयाँको दुर्घटना बीमा, ४० लाख रुपैयाँको घातक रोग बीमा र ४ लाख रुपैयाँसम्मको औषधि उपचार बीमा उपलब्ध छ ।

साथै, अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि ८० हजार रुपैयाँसम्म बीमा पाउन व्यवस्था छ । बिरामी भएर ओपीडीमा उपचार गर्न, अस्पताल भर्ना भएर उपचार गरेमा, दीर्घ रोग लागेका वा दुर्घटनामा परी ज्यान गुमाएका ग्राहकले यस्तो बीमा रकम प्राप्त गर्न सक्छन् ।

साथै, डिजिटल कारोबारका विभिन्न सेवामा पाँच वर्षसम्मको निशुल्क सुविधाहरू उपलब्ध छन् । डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड लिएका वा वार्षिक शुल्क, प्रिपेड डलर कार्ड, ई–कमर्स, चेक प्रोसेसिङ, आरटीजीएस, आईपीएस/सीआईपीएस, एटीएमबाट नगद झिक्ने (स्वदेशी बैंक)  र एटीएमबाट मौज्दात जाँच गरेको (स्वदेशी बैंकका वित्तीय संस्था) जस्ता सुविधाहरू पाँच वर्षका लागि निःशुल्क प्रयोग गर्न पाइन्छ ।

त्यसैगरी, क्रेडिट कार्डमा आवद्ध भएको र जारी भएको शुल्क लाग्दैन । क्रेडिट कार्ड सीमा ५ लाख रुपैयाँसम्म रहेको छ । लकरको शुल्क पाँच वर्षका लागि सय प्रतिशत, लकर धरौटी रकम १०० प्रतिशत छुट ५ वर्षका लागि रहेको छ । विदेशी मुद्रा सटही गर्ने क्रममा केही विदेशी मुद्रा खरिद गर्दा २५ पैसा छुट (रिबेट) र बेच्दा २५ पैसा थप (प्रिमियम) प्राप्त गर्न सकिन्छ

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएको बैंकहरूमध्येको बैंक हो । ४१ लाखभन्दा धेरै ग्राहक रहेको यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११७ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।

यस बैंकले आफ्नो मोबाइल बैकिङ्ग सेवा (मो.बैंक) र इन्टरनेट बैकिङ्गका प्लेटफर्ममार्फत आफ्ना ९५ प्रतिशत सेवाहरू ग्राहकको हातहातमा पुर्याएको छ । हाल बैंकमा रहेका ४१ लाखभन्दा धेरै ग्राहकमध्ये अधिकांसले यस बैंकको मोबाइल एप चलाइरहेका छन् भने उनीहरूले मोबाइल बैंकिङ सेवा प्रयोग गरिरहेका छन् । चालु आर्थिक वर्षको पौष मसान्तसम्ममा मोबाइल बैंकिङ एप (मोबैंक) ३६ लाख पटक डाउनलोड भएको छ । जसमध्ये एन्ड्रोइड मोबाइलमा ३२ लाख ४२ हजारभन्दा धेरै र आईओएस मोबाइलमा ३ लाख ३६ हजारभन्दा धेरै पटक डाउनलोड भएको छ ।

त्यस्तै, मोबाइल बैंकिङ प्रयोगकर्तातर्फ हेर्ने हो भने २५ लाख ४१ हजार ८ सयभन्दा धेरै ग्राहकले मोबाइल बैंकिङ सेवा प्रयोग गरिरहेका छन् । जुन समग्र बैंकिङ क्षेत्रको औसत प्रतिबैंक प्रयोगककर्ताभन्दा १७७ प्रतिशत अर्थात् १६ लाख २२ हजारले बढी हो । समग्र बैंकिङ क्षेत्रको औसत प्रतिबैंक मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ९ लाख १९ हजार रहेका छन् ।

 बीमा सुविधा

बजारमा केही बैंकहरूले बीमाको फाइदा दिएका छन् तर त्यो पनि पूर्ण छैन । सबै बैंकले बचत खातामा दिने बीमालाई तुलना गर्दा एनआइसी एशियाको सर्वोत्कृष्ट रहेको देखिन्छ ।

एनआईसी एशिया बैंक बीमामा तीनवटा फाइदाहरू दिएको छ । खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा असक्त भएमा १० लाखसम्मको बीमा सुविधा छ । त्यस्तै, १८ वटा घातक रोगहरूका लागि १० लाखसम्मको बीमा सुविधा र १ लाखसम्मको औषधि उपचार बीमा सुविधा पाउँछन् ।

पहिला १ लाखसम्मको औषधि उपचार बीमा एक मुष्ट दिने गरिन्थ्यो । ग्राहकबाट अलिकति ओपीडीको सुविधा पनि भए अझ राम्रो हुन्थ्यो प्रतिक्रिया आयो । सर्वश्रेष्ठ बचत योजनामा अस्पताल भर्ना भएमा ८० हजार रुपैयाँ र ओपीडीको लागि भनेर २० हजार रुपैयाँको उपचार खर्च दिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*