ब्लु इनर्जी हाइड्रोपावरमा कालोधनको लगानी भएको खुलासा, कानुनको धज्जी उडाउँदै सर्राफ समूह

२७ जेष्ठ २०८१, आईतवार १७:४३

काठमाडौँ । शेखरकुमार राणा सञ्चालक अध्यक्ष रहेको ब्लु इनर्जी हाइड्रोपावर लिमिटेडमा कालोधनको लगानी रहेको खुलासा भएको छ । हाइड्रोपावरमा अवैध लगानीलाई कम्पनी रजिस्ट्रारको कार्यालयले स्रोत नखुलेको अवस्थामा पनि अभिलेखीकरण गरेको तथ्य बाहिर आएको हो ।

२०८० साल माघ २६ मा भएको साधारणसभाबाट राणाको नेतृत्वमा सञ्चालक समिति बनेसँगै अवैधरूपमा आएको लगानीलाई कम्पनी रजिस्ट्रारको कार्यालयले प्रमाणीकरण गरेको पाइएको हो । होटेल व्यवसायी याक एन्ड यति समूहका मुख्य सञ्चालक सर्राफ समूहले उक्त हाइड्रोपावर बनाउन लागेको हो । सर्राफ परिवार भारतीय नागरिक हो । उनले नेपालमा लगानी ल्याउन र लैजान नेपाल सरकारको सबै कानुनी सर्त पालना गर्नुपर्ने हुन्छ । कानुनको नै धज्जी उडाएर उनले लगानी ल्याएको पाइएको हो ।

विदेशी नागरिक वा कम्पनीले नेपालमा लगानी ल्याउँदा वा फिर्ता लैजाँदा नेपाल राष्ट्र बैंकमार्फत गर्नुपर्ने नियम रहेको छ । तर, सर्राफको परिवार कसैले पनि पैसा कहाँबाट ल्याएर लगानी गरेका हुन् भन्ने खुलाएको छैन ।

कम्पनीको शेयर सदस्यहरूमा अध्यक्ष शेखर कुमार राणाको एक करोड ३१ लाख र विश्व रत्न शाक्यको चार लाखको शेयर रहेको छ । उनी दुई जना मात्र नेपाली हुन् । डोमिनियन इन्भेस्टमेन्ट लिमिटेड हङकङको ६० करोड, ब्लु इनर्जी प्रालि इन्डियाको १० करोड, याक एन्ड यति होटेल प्रालिको १५ करोड, रत्ना सर्राफ भारतको आठ करोड ६५ लाख, अरुण कुमार सर्राफको दुई करोड ५० लाख, बरुण कुमार सर्राफको दुई करोड ५० लाख लगानी गरेको भनेर कम्पनी रजिस्ट्रारको कार्यालयले प्रमाणीकरण गरिदिएको छ । ब्लु इनर्जी प्रालि इन्डियाको १० करोड लगानी गर्ने भनेपनि जुन अहिलेसम्म जम्मा गर्ने भने सकेको छैन ।   यस्तै डोमिनियन इन्भेस्टमेन्ट लिमिटेड हङकङमा पनि सबै सेयर यिनै सर्राफ परिवारको मात्रै रहेको छ ।

१०० मेघावाट क्षमताको यस हाइड्रोपावरमा ३० प्रतिशत कम्पनीको र ७० प्रतिशत बैंकको लगानी रहेको छ । नेपाल इनभेष्टमेन्ट मेघा बैंकको अगुवाइमा ग्लोबल बैंक र कुमारी बैंक सब लिड र नबिल बैक, एभरेष्ट बैंक, हिमालयन बैंक, एसबीआई बैंक लगानीकर्ता बैंकको रूपमा १२ अर्ब ४० करोड ऋण स्वीकृत भएको छ ।

राधेश्याम सर्राफ र उनकी श्रीमती रत्ना सर्राफको नाममा रहेको उक्त कम्पनीको चुक्ता पुँजी १.५ करोड हङकङ डलर (करिब २५ करोड नेपाली) रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*