बीमा प्राधिकरणमा कामु कार्यकारी नियुक्त गर्न अख्तियार प्रमुख प्रेम राईको दबाब

२८ जेष्ठ २०८१, सोमबार ०८:५०

काठमाडौं । भ्रष्टाचार सम्बन्धी संवैधानिक निकाय अख्तियारका उच्च तहका कर्मचारी आफै अख्तियार दुरुपयोगमा संलग्न भएपछि देशको भ्रष्टाचार नियन्त्रण र सुशासनको अवस्था कस्तो होला ? त्यसो त यसअघि अख्तियारकै प्रमुख आयुक्त लोकमान सिंह कार्की स्वयम् पनि यस्ता थुप्रै भ्रष्टाचारमा नजोडिएका होइनन् ।

वर्तमान प्रमुख आयुक्त प्रेम राई पनि यस्तै धन्दामा अघि बढेका छन् । अख्तियारका प्रमुख आयुक्त प्रेम राईले पछिल्लो पटक नेपाल बीमा प्राधिकरणमा आफू निकटलाई फाइदा हुने गरी कामु कार्यकारी निर्देशक नियुक्ती गर्न दबाब दिइरहेका छन् । प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाललाई विभिन्न च्यानलबाट दवाव दिइरहेका प्रेम राईले आइतबार मुखै फोरेर कामु कार्यकारी निर्देशक नियुक्तीमा ढिलाई नगर्न भनेर अध्यक्ष सुर्य प्रसाद सिलवाललाई दबाब दिएको विश्वस्त स्रोतले बीमापोष्टलाई जानकारी दिएको छ ।

नेपाल बीमा प्राधिकरणका कैयौं भ्रष्टाचारमा सेटिङ गरेको आरोप प्रमुख आयुक्त प्रेम राईमाथि लाग्दै आएको छ । चाहे त्यो एभरेष्ट होटलको काण्ड होस् वा अन्य उजुरी माथि छानविन नगरी तामेलीमा राखेको काण्ड नै किन नहोस् । प्रेम राईकै कारण बीमा प्राधिकरण कहिल्यै भ्रष्टाचारको छानविन नै नहुने सम्मको चर्चा बीमा क्षेत्रमा व्याप्त छ ।

पछिल्लो पटक अख्तियारले बीमा क्षेत्रको नियमनकारी निकायमा अनावश्यक रुपमा हस्तक्षेप र दबाब बढाउँदै लगेको छ । कार्यकारी निर्देशक नियुक्ती तत्कालै गर्नुपर्नेमा पद रिक्त राखेर गर्नुपर्ने काम नगरेकोमा उल्टै कारवाही गर्नुपर्नेमा अख्यितार आफैले अनैतिक अभ्यासमा प्रोत्साहन गरिरहेको छ । अख्तियारको चर्को दवावपछि सम्भवतः बीमा प्राधिकरणको सञ्चालक समितिले छिट्टै कामु कार्यकारी सम्बन्धी निर्णय गर्नेछ । भ्रष्टाचार र अनियमितामाथि कुनै कारवाही नगर्ने तर कामु नियुक्तीमा दवाव दिने प्रेम राईको कार्यशैली पनि भ्रष्टाचार नै होइन र ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*