धितोपत्र बजार पुँजीकरण साढे ३१ खर्ब, बैंक वित्त र बीमा कम्पनीको हिस्सा ५८.४ प्रतिशत

२८ जेष्ठ २०८१, सोमबार १७:०७

काठमाडौँ । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.४ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले यस्तो देखाएको हो ।

नेप्सेमा जलविद्युत्कम्पनीको हिस्सा १४.४ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.८ प्रतिशत, होटेलको हिस्सा २.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.८ प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८१ बैशाख मसान्तमा सूचीकृत ८ अर्ब २८ करोड शेयरको चुक्ता मूल्य ८ खर्ब २० अर्ब ९३ करोड रहेको छ । आर्थिक वर्ष २०८०/८१ को दश महिनामा ८४ अर्ब ९९ करोड बराबरको साधारण शेयर, २० अर्ब ४० करोड बराबरको बोनस शेयर, रु.२० अर्ब १ करोड बराबरको हकप्रद शेयर, र ३ करोड बराबरको एफपीओ गरी कुल १ खर्ब २५ अर्ब ४४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्ब ८० करोड बराबरको साधारण शेयर,  ६ अर्ब २ करोड बराबरको डिबेन्चर, ५ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र ३ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल २४ अर्ब ७८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

२०८१ बैशाख मसान्तमा धितोपत्र बजार पुँजीकरण ३१ खर्ब ६९ अर्ब ४८ करोड कायम भएको छ । २०८० बैशाख मसान्तमा बजार पुँजीकरण २६ खर्ब ५७ अर्ब ७६ करोड रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*