१० महिनामा ५ खर्ब २७ अर्बको शेयर कारोबारः हाइड्रोपावर र बैंकको हिस्सा धेरै, कुन सेक्टरको कति ?

२९ जेष्ठ २०८१, मंगलवार १४:१४

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा ५ खर्ब २७ अर्ब रुपैयाँको शेयर कारोबार भएकोछ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५ खर्ब २७ अर्ब ९२ करोड रुपैयाँको शेयर कारोबार भएको हो ।

चालु आर्थिक वर्ष २०८०÷८१ को १० महिनाको अवधिमा नेप्सेमा रहेका १३ समूह, बैङ्कहरूको ऋणपत्र, संस्थापक सेयर र अग्राधिकार सेयर गरी १ अर्ब ५५ करोड २५ लाख १६ हजार कित्ता शेयर किनबेच भएको हो ।

उक्त कारोबार गत आर्थिक वर्षको सोही तुलनाको अवधि भन्दा ५६.१ प्रतिशतले बढी कारोबार हो । गत आर्थिक वर्षको १० महिनामा ९३ करोड ७७ लाख ३४ हजार कित्ता बराबरको ३ खर्ब ३८ अर्ब १६ करोड ३४ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको हो ।

१३ समूहमध्ये सर्वाधिक हाइड्रोपावर कम्पनीहरूको सेयर खरिद बिक्री भएको छ । नेप्सेमा ९१ वटा हाइड्रोपावर सूचीकृत छन् । कुल सेयर खरिदबिक्री रकममध्ये हाइड्रोपावर समूहको हिस्सा मात्रै २८.९ प्रतिशत देखिएको छ ।

हाइड्रोपावर समूहको ५ करोड ४१ लाख १९ कित्ता बराबरको १ खर्ब ५२ अर्ब ३७ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा हाइड्रोपावर सेक्टरको १ खर्ब ३ अर्ब ५० करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।
छिटो नाफा बुक गर्ने लगानीकर्ता हाइड्रोपावरमा हाबी हुँदा कारोबार वृद्धि भएको लगानीकर्ता छोटेलाल रौनियारले बताए । उनले भने, ‘अहिले दीर्घकालीन लगानीकर्ता बैङ्क तथा वित्तीय संस्था मै लगानी गरी रहेका छन् । तर छिटो नाफा लिएर बुक गर्ने लगानीकर्ता हाइड्रोपावरमा हाबी भएको देखिन्छ । सोही कारण समेत हाइड्रोपावरमा लगाव लगानीकर्ताको देखिन्छ’ ।

यस्तै, कारोबार रकममा दोस्रो ठूलो हिस्सा वाणिज्य बैंकको १० प्रतिशत रहेको छ । यस अवधिमा वाणिज्य बैंक समूहको ५२ अर्ब ८७ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यता, कारोबार धेरै हुने तेस्रो नम्बर सूचीमा जीवन बिमा समूहको ९.२ प्रतिशत हिस्सा रहेको छ । जीवन बिमा समूहको ४८ अर्ब ३६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीको ४८ अर्ब ३६ करोड २६ लाख रुपैयाँ, निर्माण र प्रशोधन सेक्टरको ४७ अर्ब ८८ करोड ९४ लाख रुपैयाँ, माइक्रोफाइनान्स समूहको ३६ अर्ब ५७ करोड रुपैयाँ, फाइनान्स समूहको ३४ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको देखिएको छ ।

यस अवधिमा सबै भन्दा कम म्युचुअल फन्ड १ अर्ब ४३ करोड रुपैयाँको मात्र कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*