बागमतीका निलम्बित मेयर थापाविरूद्ध ३० करोडको अर्को भ्रष्टाचार मुद्दा दायर

२९ जेष्ठ २०८१, मंगलवार १६:२९

काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापाविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा दायर भएको छ । यसअघिनै भ्रष्टाचारको मुद्दा लागेर निलम्बित भएका थापाविरुद्ध मंगलबार फेरि ३० करोड भन्दा धेरैको मुद्दा दायर भएको हो ।

यसअघि अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो । अख्तियारले थापाले पाँच करोड ३३ लाख ५३ हजार एक सय ८१ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको उल्लेख गरेको थियो ।

मंगलबार भने बागमती नगरपालिकाको वडा नं। ४ र १२ मा अवस्थित बागमती माछा पोखरी प्रथम निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, वालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको भन्दै मुद्दा दायर भएको हो ।

थापाविरुद्ध कुल ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बिगो मागदाबी गरेर मुद्दा दायर गरिएको छ । सोही प्रकरणमा अख्तियारले नगर उपप्रमुख लीला कुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमल कुमार पोखरेलसमेत ६ जना उपर पनि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*