नतिजा देखिने गरी काम गर्न कर्मचारीलाई प्रचण्डको चेतावनी

३१ जेष्ठ २०८१, बिहीबार ०९:०७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रसेवक कर्मचारीहरूलाई हस्, भइहाल्छ भन्नेमात्र नभएर नतिजा देखिने गरी काम गर्न चेतावनी दिएका छन् । उनले सिंहदरवारमा आयोजित चालु आवको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समाधान समितिको बैठकमा बोल्दै यस्तो चेतावनी दिएका हुन् ।

‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गहन भूमिकालाई मध्यनजर गरी इमान्दारीता र कार्यकुशलतापूर्वक कार्यसम्पादनमा जुट्न सबैमा आव्हान गर्दछु ।’ प्रचण्डले भने ’यस कार्यालयलाई शासकीय मामिलाको वास्तविक केन्द्र बनाउने हो, ताली पड्काउने, हजुर, हस्, भइहाल्छ जस्ता भाष्य मात्र होइन, हामी सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक छ ।’

तोकिएको समयमा निर्धारित लक्ष्य अनुसारको नतिजा पाउन कर्मचारी वर्गको क्रियाशिलता आवश्यक रहेको बताउदै प्रचण्डले कार्यरत तहअनुसार कर्मचारीहरूको क्षमता विकास गर्नुका साथै उत्प्रेरणा तथा मनोबल बढाउँदै लगिने बताए । प्रचण्डले आगामी आवदेखि सबै राष्ट्रसेवकहरूको नजितासूचक सहितको कार्यसम्पानदमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्वयन गर्न निर्देश समेत दिएका छन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई अनावश्यक कर्मचारी थन्काउने थलोको रूपमा भन्दा विज्ञता र क्षमता उपयोग गर्ने थलो बनाउनुपर्ने बताउदै यस विषयमा विशेषगरी मुख्य सचिव र सचिवहरूले नेतृत्वयादी भूमिकासहित आवश्यक प्रबन्ध गर्न निर्देशन दिए ।

‘समग्र कार्यसम्पादनबाट निराश हुनुपर्ने अवस्था नभए पनि तोकिएको कार्यक्रम, तय गरिएको माइलस्टोन तथा सूचकमा पूर्ण उपलब्धि हासिल गर्न थप मेहनतको आवश्यक छ ।’ प्रचण्डले कार्यान्वयन र अनुगमन गर्नका लागि कार्यालय तथा मातहतका निकायका प्रमुखहरूले विशेष योजना तयार गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*