लाभांश प्रस्तावसहित ओरियण्टल होटल्सले बोलायो साधारणसभा
काठमाडौं । ओरियण्टल होटल्स् लिमिटेडले असोज २० गते आइतबार २७औं वार्षिक साधारणसभा बोलाएको छ । होटलको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा विहान ११ बजे सभा बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३१६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरणको प्रस्ताव पारित गर्नेछ ।
वार्षिक सहित लेखापरीक्षकको प्रतिवेदन लगायत अन्य वित्तीय विवरणहरू पारित गर्ने र चालु आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ ।
सभा प्रयोजनार्थ होटलले असोज ७ देखि २० गतेसम्म बुक क्लोज गर्नेछ । यसका आधारमा असोज ६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।