बीमा प्राधिकरणको कार्यकारी निर्देशक को बन्लान ? यसरी रोचक बन्दैछ प्रतिस्पर्धा

२१ माघ २०८१, सोमबार १३:४९

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक र अध्यक्ष दुवै पद रिक्त छ । अध्यक्ष पदमा पदपूर्तिका लागि नेपाल सरकार मन्त्रिपरिषदले छनौट समिति गठन गरेर अघि बढेको अवस्था छ भने कार्यकारी निर्देशक नियुक्तीका लागि लोकसेवाले आन्तरिक बढुवामार्फत प्रक्रिया अघि बढाएर अन्तिम अवस्थामा पुगेको छ ।

बीमा प्राधिकरणमा कार्यरत रहेका तीन जना निर्देशकहरु कमलराज रेग्मी, सुशिल सुवेदी र पुजन ढुंगेल (अधिकारी) मध्येबाट एक जना कार्यकारी निर्देशक नियुक्त हुनेछन् । तीनै जनाले कार्यकारी निर्देशक पदमा आन्तरिक बढुवामा फारम भरिसकेकोले तीन जना मध्येबाट एक जना कार्यकारी निर्देशक बन्ने प्रक्रियामा रहेको छ ।

बीमा प्राधिकरणको कार्यकारी निर्देशक पदपूर्तिका लागि अब गरिने राजनीतिक चलखेल र दवावले खासै अर्थ राख्दैन किनभने लोकसेवाको उपस्थितिमा विधि र प्रक्रिया अनुसार स्वतन्त्र रुपमा कार्यकारी निर्देशक छनौट हुनेछन् । अझ रोचक कुरा त के छ भने प्राधिकरणको कार्यकारी निर्देशक को बन्ने भन्ने कुरा आज होइन, पाँच वर्षअघिदेखि बन्द रहेको (लाहाछाप लगाए राखिएको) कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी रिपोर्ट निर्णायक हुने देखिएको छ । बीमा प्राधिकरणको कर्मचारी बिनियमावली अनुसार केही तथ्यहरु छन्, जसले कसैको सम्भावना बढी र कम भनेर निर्धारण गर्न सकिन्छ ।

कार्यकारी निर्देशक छनौट कार्यविधि अनुसार कूल १०० अंकभार निर्धारण गरिएको छ । उक्त अंकभित्रको भार कार्यसम्पादन मूल्याङ्कनमा ५० अंक, जेष्ठतामा ३० अंक, शैक्षिक योग्यतामा १७ अंक तथा तालिममा ३ अंक राखिएको छ । उल्लेखित मापदण्ड माध्ये कार्य सम्पादन मूल्याङ्कन र जेष्ठताले सबैभन्दा धेरै निर्णायक भूमिका खेल्ने देखिएको छ । जेष्ठताको आधारमा निर्देशक कमलराज रेग्मी सबैभन्दा अगाडि भएपनि कार्यसम्पादन मूल्याङ्कनमा पाँच वर्षअघि देखि नै पछि पारिएको अनुमानका आधारमा अहिले नै यसै भन्न सकिने अवस्था भने छैन ।

सबैभन्दा धेरै अंक भार भएको कार्य सम्पादन मूल्याङ्कनको गणना गर्दा पछिल्लो पाँच वर्षको अंकलाई कूल ५० अंकको अनुपातसँग मिलाएर गरिनेछ । कासमुको गणना गर्दा प्रत्येक वर्ष प्राप्त कूल अंकलाई जोडेर गणना गरिन्छ । कासमुको मूल्याङ्कन प्रत्येक वर्षको असारमा सिलप्याक गरेर एक प्रति प्राधिकरणकै पदपूर्ति समिति र अर्को प्रति प्रशासनमा राखिएको हुन्छ । दुवै सिलप्याक हुन्छन् ।

यस पटकको कार्यकारी निर्देशकमा त्यही लाहाछाप लगाएर सिलबन्दी गरिएको कासमुको अंक नै निर्णायक हुने देखिएको छ । कासमुमा अंक दिँदा पनि ७० भन्दा तल दिँदा कारण खोल्नुपर्ने र ९० भन्दा माथि दिँदा पनि कारण खोल्नुपर्ने भएकोले सामान्यतयाः सो भन्दा तल माथि अंक दिएको छैन होला भनेर विश्वास गरिएको छ । कूल ५० अंक मध्ये पाँच वर्षमा सबैभन्दा धेरै पाउनेले ४५ अंक पाउने सम्भावना छ भने सबैभन्दा कम अंक पाउनेले ३५ अंक पाउनेछन् । पछिल्लो पाँच बर्षमा प्राधिकरणमा कमलराज रेग्मीलाई सुर्य प्रसाद सिलवालले खासै महत्व नदिएको आधारमा कासमुमा कैची मारेको हुनसक्ने अनुमान गरिएको छ । साथै अर्का निर्देशकहरु सुशिल सुवेदी र पुजन ढुंगेल अधिकारीलाई बढि नम्वर दिएको विश्वास गरिएको छ । कासमुमा कूल १० अंकसम्म फरक पर्नसक्ने देखिएको छ ।

जेष्ठताको अंक गणना गर्दा बार्षिक २.५ अंकको दरले गणना हुने गर्दछ । सो आधारमा कमलराज रेग्मी अगाडी रहेका छन् । रेग्मी निर्देशक बनेको नौ बर्ष पाँच महिना भइसकेको छ । त्यस्तै, सुशिलदेव सुवेदी र पुजन ढुंगेलको पाँच वर्ष आठ महिना नाघिसकेको छ । साथै दिन समेत गणना हुँदा पनि रेग्मी र अन्य दुई निर्देशकका बीचमा करिब ९.७ अंकको फरक हुनेछ ।

साथै शैक्षिक योग्यतामा राखिएको १७ अंकमा प्रथम डिभिजन हुने र दोस्रो डिभिजन हुनेका बीचमा १ वा ०.५ अंक मात्रै फरक पर्नेछ । तालिमको छुट्टै कार्यविधि भएकोले तालिमको दावी गर्ने कोही पनि छैनन् ।
उल्लेखित अवस्थाका बीचमा पछिल्लो पाँच वर्षको अवधीमा निर्देशकहरु मध्येमा कमल रेग्मीलाई सबैभन्दा कम नम्वर दिएको अनुमान गरिएको छ यद्यपि यो सबै अनुमान मात्रै हो, कार्यालय प्रमुख अध्यक्षले सबैलाई समान नम्वर दिएको पनि हुनसक्दछ । २०७७ साल असारको कासमु चिरञ्जीवी चापागाईले दिएर राखेका छन् भने त्यसपछिका चार वर्षको कासमु सुर्य प्रसाद सिलवालले नै दिएका हुन् । रेग्मी र तत्कालिन अध्यक्ष चापागाईबीच अन्तिममा ठूलै झगडा परेकोले रेग्मीको कासमु काटिएको दावी छ । सुर्य सिलवालले पनि रेग्मीको कासमु न्यून अंक दिएको चर्चा छ । यद्यपि यो सत्य नहुन सक्दछ किनभने कानुन मन्त्रालयका सह–सचिव (बीमा प्राधिकरणको सञ्चालक) को एउटा टोली समेत बसेर कासमुको अन्तिम फाइनल हुने गर्दछ ।

कासमुमा रेग्मीलाई ७० अंक भन्दा पनि तल कुनै वर्ष दिएको रहेछ भने झिनो अंकले सुशिल सुवेदी वा पुजन ढुंगेल मध्येबाट एक जना कार्यकारी निर्देशक बन्नेछन् । कासमुमा कुनै एक वर्ष ९० अंक रेग्मीले पाएका रहेछन् भने रेग्मी नै कार्यकारी निर्देशक बन्नेछन् । त्यसैगरी, रेग्मी भएनन् भने सुवेदी र ढुंगेलका बीचको प्रतिस्पर्धा अझै रोचक बन्नेछ । त्यहाँ पनि कासमुकै भूमिका हुनेछ अन्यथा सबैमा बराबरी भएको अवस्थामा लोकसेवाको अन्य कुनै विधि र उपाय निकालेर कार्यकारी निर्देशक छनौट गर्ने सम्भावना छ ।

सुशिल सुवेदी र पुजन ढुंगेल मध्येमा छनौट गर्नुपर्दा अर्को रोचक हुनेछ । किनभने दुई जना निर्देशक एकै पटक बढुवा भएकोले अन्य सबै कुरामा समान जस्तै हुनेछ । उनीहरुलाई दुई जना निर्देशकबीचको प्रतिस्पर्धा पनि कासमुमै पुगेर अल्झिने छ । सम्भवतः पुजन ढुंगेल र सुशिल सुवेदीलाई समान कासमु दिइएको अवस्थामा शैक्षिक योग्यतामा प्राप्त नम्वर निर्णायक बन्न सक्ने अवस्था हुनसक्थ्यो । निर्देशकद्वय सुवेदी र ढुंगेल दुवैको स्नातकोत्तर प्रथम श्रेणीमा नै भएकोले यस्तो सम्भावना छैन ।

उल्लेखित कारणहरुबाट नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक को बन्ने भन्ने कुरा पाँच वर्षअघि देखि भएको कासमुमा निर्भर रहेको छ । कासमुको विधि अनुसार २०७७, २०७८, २०७९, २०८० र २०८१ असारमा दिइएको नम्वरहरु जुन लाहाछाप लगाएर बन्द अवस्थामा छ, सोही बन्द खामभित्र कार्यकारी निर्देशकको भाग्य र नतिजा लेखिसकेको छ ।

नेपाल बीमा प्राधिकरणले हालै खुलाएको आवेदन अनुसार लोकसेवा आयोगका पदाधिकारीहरु, पदपूर्ति समितिका सदस्यहरु बसेर खोल्ने वित्तिकै कार्यकारी निर्देशकको नतिजा बाहिर आउने छ । आवेदन दिने समय सकिए पनि लोकसेवाको नियम अनुसार दोब्बर दस्तुर दिने समय माघ २५ गतेपछि विधि र प्रक्रियामार्फत कासमु खोलेर नतिजा बाहिर आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*