बीमा कम्पनीका सिईओहरुसँग दैनिक ब्रिफिङ लिँदै नयाँ अध्यक्ष ओझा

२५ फाल्गुन २०८१, आईतवार १०:३२

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले यही फागुन १२ गते नियुक्ती भएर पद सम्हाले यता दैनिक ब्रिफिङ लिएर बीमाका बारेमा पढ्दै समय बिताइरहेका छन् ।

औपचारिक स्वागत कार्यक्रम नराखी काम सुरु गरेका ओझाले फागुन १३ गतेदेखि नै कर्मचारीहरुसँग ब्रिफिङ लिएर बीमाबारे बुझ्ने कोसिस गरेका थिए । पछिल्लो साता अध्यक्ष ओझाले बीमा कम्पनीका सिईओहरुसहितका उच्च व्यवस्थापनसँग बीमाबारे पढ्दै आएका छन् । अध्यक्ष ओझाले हरेक बीमा कम्पनीका सिईओहरुलाई प्राधिकरणमा बोलाएर बीमाको गतिविधि, बीमाका अभ्यास, बीमा क्षेत्रका चुनौति र गर्नुपर्ने कामहरुबारे व्याख्या गराउँदै आएका छन्। यसबाट बीमाबारे सामान्य ज्ञान नभएका ओझाले राम्रै सिक्ने मौका पाएको रुपमा बीमा क्षेत्रमा चर्चा भइरहेको छ ।

बीमा कम्पनीका सिईओहरुले प्रस्तुतिकरणको बेला बीमा प्राधिकरणका निर्देशकहरु समेतलाई सहभागी गराइएको छ । त्यस्तै, बीमा कम्पनीको तर्फबाट डेपुटी सिईओसहितका उच्च व्यवस्थापनका कम्तीमा पाँच जनालाई उपस्थित हुन भनिएको छ।

अध्यक्ष ओझाले दैनिक दुई देखि चार वटा बीमा कम्पनीका सिईओहरुलाई बोलाएर बीमाबारे ब्रिफिङ गर्न लगाइरहेका छन् । स्रोतका अनुसार यो सातासम्म सबै बीमा कम्पनीका सिईओहरुसँग ब्रिफिङ लिएर सक्ने लक्ष्य उनले राखेका छन्।

अध्यक्ष ओझाले बीमा कम्पनीका सिईओहरु उच्च व्यवस्थापकसहित सकेसम्म स्लाईड समेत लिएर आउन भनेका छन् । सोही अनुसार बीमा कम्पनीका सिईओहरु बीमा प्राधिकरणमा पुगेर बीमाबारे अध्यक्षलाई जानकारी गराइरहेका छन्।

सरकारले बीमा क्षेत्रमा एक दिन पनि काम नगरेका व्यक्तिलाई नियामक बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेपछि बीमा कम्पनीका सिईओहरुलाई प्रस्तुतिकरण लिएर प्राधिकरण पुग्नुपर्ने झन्झट आइलागेको हो । प्रस्तुतिकरणमा भाग लिएर फर्केका एक कर्मचारीले बीमापोष्टसँग भने, ‘सबै बीमा कम्पनीसँग प्रस्तुतिकरण लिएर अध्यक्षज्युले नयाँ शैलीबाट कार्य प्रारम्भ गर्नु भएको छ, राम्रै होला ।’

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*